मेघौली । भरतपुर–२७, मेघौलीस्थित क्लिनिक नेपालले जानकी माविलाई थप अर्को स्कुल बस प्रदान गरेको छ । क्लिनिक नेपालका संस्थापक अध्यक्ष, जानकी मावि मेघौलीका पूर्वविद्याथीसमेत रहेका हरि भण्डारीले आफ्नो लागि प्राप्त पुरस्कारबापतको रकमसमेत सामाजिक सेवामै लगानी गरेका छन् । २०७५ साल भदौ महिनामा उनले सामाजिक सेवामा गरेको योगदानको सम्मानस्वरुप रोटरी क्लबले प्रदान गरेको १ लाख डलर राशिको पुरस्कारबाट उनले स्कुललाई बस किनिदिएका थिए भने ९६ फिट लामो स्कुलको तला थप गरेका थिए ।
सबै इच्छुक विद्यार्थीहरुले स्कुल बसको सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यबाट प्रेरित भई विद्यालयलाई थप अर्को एउटा युरो–६ मोडलको ५० सिटे टाटा स्कुल बस खरिदका लागि लाग्ने सम्पूर्ण लागत मूल्यबराबरको रकम ५७ लाख वडा नं–२७ का वडाध्यक्ष रामबहादुर भण्डारीमार्फत प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाले बताए ।
तीन दशकभन्दा लामो समय समाजसेवामा खर्चिएका भण्डारीले मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनामा विदेशमा समेत रकम जुटाएर १ सय किलोवाटको सोलार बत्ती जडान गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जडान गरेका छन् । सोलारबाट उत्पादित बिजुली बेचेबापत मासिक ७३ हजार रूपैयाँ आम्दानी संस्थाले गरेको छ ।
‘यो मेघौली खानेपानी आयोजनाको दिगोपनाका लागि स्थायी स्रोत हो’, भण्डारीले भने, ‘मेरो मान–प्रतिष्ठा, इज्जत, सन्तुष्टि र सारा सम्पक्ति भनेकै समाजसेवा हो । यसबाट कहिल्यै अलग हुन सक्दिनँ । मैले बनाएको धारा खोलेर धारैबाटै पानी खाँदा अमृत पिएसरह हुन्छ । मैले किनिदिएको बसमा बच्चाहरु चढेर स्कुल गएको देख्दा हर्षको आँसु बहन्छ । मैले बनाएको क्लिनिकमा गएर बस्छु, बिरामीहरु आउँछन् । त्यो देखेपछि त म जे पनि गर्न सक्छु भने आँट पैदा हुन्छ । यिनै हुन् समाजसेवाबाट मैले सन्तुष्टि लिने आधारहरु ।’ समाजसेवामा उनले गरेको योगदानको कदर गर्दै सरकारले संविधान दिवसको उपलक्ष्यमा जनसेवा श्री पदकबाट सम्मान गरेको थियो ।
क्लिनिक नेपाल मेघौलीले स्वास्थ्यका साथसाथै विभित्र क्षेत्रमा सहयोग गर्दै आएको छ । क्लिनिक नेपाल परिवारको सदस्यको रुपमा मेघौली तथा आसपासका समुदायका लागि नयाँ एम्बुलेन्स सेवा सञ्चालन गरेको छ भने क्लिनिक नेपाल फ्रेन्डसिप स्काउट ट्रुप मेघौलीले विगतमा पनि पटकपटक स्काउटसम्बन्धी क्याम्प र कार्यक्रम गर्दै आएको छ । क्लिनिक नेपालबाट मेघौलीमा हरेक दिन स्वास्थ्यसेवा प्रदान हुँदै आएको छ । यहाँ हप्ताको निम्न बारहरुमा भने विशेषज्ञ डाक्टरहरुबाट सेवा लिन सकिने छ ।
निःशुल्क ब्लड सुगर र युरिक एसिड परीक्षण साथै सोमबार जनरल फिजिसियन, प्रथम मङ्गलबार मानसिक स्वास्थ्य विशेषज्ञ सेवा, सामान्य शल्यचिकित्सकको सेवा, नाक, कान, घाँटीको परीक्षण, बुधबार भिडियो एक्स–से र महिला रोग विशेषज्ञ सेवा, बिहीबार छालारोग विशेषज्ञ सेवा, शुक्रबार जनरल फिजिसियन, रगत, सुगर र युरिक एसिड जाँच, शनिवार आँखा, दन्त, नसा तथा हाडजोर्नी विशेषज्ञ सेवा दिइरहेको क्लिनिक नेपाल मेघौलीका प्रबन्धक सुमन पौडेलले बताए ।
मेघौलीको आर्थिक सहयोगमा अतिविपन्न र दीर्घरोगका बिरामी भएको परिवारलक्षित भरतपुर महानगरपालिका वडा नं–२७ को कार्यालयले क्लिनिक नेपाल मेघौलीको सहकार्यमा सिसौघारीका धेरै घरपरिवारको स्वास्थ्य बिमा गरेको उनले बताए ।
सिसौघारी टोलका क्लिनिक नेपाल मेघौलीको छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुका अभिभावकहरुलाई सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराइएको हो । आगामी आर्थिक वर्षमा वडा नं–२७ का अन्य सबै टोलका विपन्न र दीर्घरोगका बिरामी भएको घरपरिवारमा पनि स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
