भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको भोटेकोसीमा आएको बाढीले चितवनमा समेत त्रास फैलायो ।
चितवनको प्रशासनले समयमै सूचना प्रवाह गरेर त्रिशूली र नारायणी नदीकिनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेका कारण चितवनमा कहीँकतै भौतिक तथा मानवीय क्षति हुन पाएन ।
‘समयमै सूचना प्रवाह गरी सबै स्थानीयलाई सतर्क रहन माइकिङ गरियो, नदी तटीय क्षेत्रमा पुगेर सूचनाहरु दिइयो, सतर्कता पूरा अपनाइयो । चितवनसम्म आइपुग्दा बाढी कमजोर पनि भएको पाइयो’, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । नारायणगढका कतिपय संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी घरफिर्तासमेत गरेका थिए ।
रसुवाबाट सुरू भएको बाढी चितवनसम्म आइपुग्दा खतराको लेबल पार गरेन । खतरामा नपुगी नारायणी नदीमा बाढीको सतह घट्न थाल्यो । बाढी फेरि पनि आउन सक्ने सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने मौसमविद्हरुको भनाइ छ । देवघाटको जलमापन केन्द्रका अनुसार नारायणी नदीको बहाव घट्न थालेको छ । नारायणीमा पानीको बहाव ९ मिटर कटेपछि खतरापूर्ण मानिन्छ । छ दशमलब ८० मिटर पानीको सतह पुगेर घट्न सुरू भएको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई. सुमित अधिकारीले बताए ।
१८ जनाको शव भेटियो
बागमती प्रदेश प्रहरी कार्यालयले चितवनको त्रिशूली र नारायणी नदीआसपासमा १८ जनाको शव भेटिएको जनाएको छ । शव भेटिने क्रम उच्च हुन सक्ने आकलन गरिएको छ ।
सुरक्षा निकायद्वारा नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरु निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । प्रहरीका अनुसार चितवनमा १२ वटा हातखुट्टाहरु भेटिएका छन् । बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतराको तहमा पनि पुगेन । चितवनमा बाढीका कारण कतै धनजनको क्षति भएन ।
सडकखण्ड दिउँसोबाट रोक
बाढीको जोखिमका कारण पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार दिउँसैबाट रोक लगाइएको थियो । बाढीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सवारी रोक लगाइएको हो । बुधबार राति पोखरातर्फ जाने सवारीसाधनहरु पठाइए पनि पृथ्वीराजमार्गको धादिङमा सडक अवरूद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए ।
जोखिम मोलेर बाढीका सामग्री निकाल्दै
नारायणगढस्थित नारायणी नदीकिनारमा केहीले जोखिम मोलेर बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायतका सामग्री सङ्कलन गरेका थिए । सामाजिक सञ्जालमा यस्तो हर्कतको आलोचना भइरहेको छ । ‘लोभले लाभ, लाभले विलाप’ हुन सक्ने भन्दै यस्तो कार्य गर्नेलाई प्रशासनले निगरानी बढाएर कानुनी उपचार खोज्नुपर्ने सामाजिक अभियन्ताहरुको भनाइ छ । प्रशासनले नदीआसपासमा नजान आग्रह गरे पनि केही स्थानीयले जोखिम मोलेर सामग्री निकालेका थिए ।
प्रतिनिधिसभा बैठक स्थगित
हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । भदौ ११ गते बिहीबार दिउँसो १ः०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक सरकार तथा प्रतिनिधिसभाका सदस्यहरु राहत, उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले सो बैठक बस्न नसक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
९५ जनाको मृत्यु भएको पुष्टि
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक निष्कर्ष
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमाक्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको चट्टानसहितको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालिएको बताए ।
