काठमाडौं, साउन ३० ।
शिक्षा मन्त्रालयले सातै प्रदेशमा शिक्षा सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ।
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग मन्त्रालयले छलफल गर्न लागेको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न लागिएको हो।
उक्त कार्यक्रमलाई मन्त्रालयले ‘शिक्षा संवाद’ नाम दिएको छ।
पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुन लागेको पनि मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम हुनेछ।
मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्।
छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ।
शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको मन्त्री पोखरेलको सचिवालये जनाएको छ।
