काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउनुभएको छ ।
नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी स्रेस्ताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका स्रेस्ता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो । जलेर नष्ट भएका अभिलेखको पुनर्स्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी, उत्खनन, रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी स्रेस्ता जलेर नष्ट भएकाले झन्डै डेढ खर्ब रुपैयाँ बराबरको कारोबारको लेखापरीक्षण प्रभावित भएको जानकारी गराएको पनि अर्थमन्त्रीले बताउनुभयो ।
जलेर नष्ट भएका अभिलेख पुनर्स्थापनाका क्रममा अनियमितता वा दुरुपयोगको आशङ्का उत्पन्न हुन सक्ने भएकाले सार्वजनिक लेखा समितिले निगरानी तथा अनुगमन गर्न सक्ने उहाँकाे भनाइ छ ।
