काठमाण्डौ – आज घण्टाकर्ण चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाउँदैछन् ।
साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेषगरी काठमाण्डौ उपत्यकाका नेवार समुदायले यो पर्व मनाउने गरेका छन् । आजका दिन भूतप्रेत पन्छाउने भन्दै नर्कटलाई छवाली, सिस्नो, नाङ्लो, कर्कलोलगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ ।
घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा बिसर्जन गरी भूत प्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रूपमा मनाउने बिशिष्ट पर्व भएको संस्कृतिविद्को भनाइ छ । रोपाइँ अबधिभर सरसफाईलाई ध्यान दिन नपाउने र यसबेला बिभिन्न किरा फट्याङग्राले दुःख दिने भएकाले यसलाई भूतप्रेत पन्छाउने संज्ञा दिइएको संस्कृतविद् बताउँछन् ।
घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, समयबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।
