काठमाण्डौ — आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम छ ।
अरु २४ वटा जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित आसपासमा रहेका साना नदीमा जलसतह बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहेको छ ।
आज विशेषगरी तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
लाल बकैया नदी जुरेली बजार, मकवानपुरमा बाढी बढिरहेकोले नदि आसपास डुबान भईरहने ठाऊँका बासिन्दाले आजबेलुका सम्मै सतर्क रहन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विशेषगरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
