नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै प्रतिपादन गरेको विचारलाई बोकेर अगाडि बढिरहेको छ । कांग्रेस विगतमा टुट्ने, फुट्ने हुँदै यहाँसम्म आइपुगेको हो । अहिले आएर फेरि पुनः एकपटक कांग्रेस विखण्डनको दिशामा पुगेको अवस्था छ ।
जेनजी विद्रोहपछि एक्कासि गगन थापाहरूहरूलाई अब नेतृत्व हाम्रो हातमा लिनुपर्छ, नभए पार्टी अब रहँदैन भन्ने लाग्यो । उहाँहरूकै अगुवाइमा विशेष महाधिवेशन भयो । त्यो महाधिवेशनपछि फेरि उहाँहरूले १५औँ महाधिवेशन गर्नुभयो । महाधिवेशनबाट केही पदमा निर्विरोध र अधिकांशमा निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति आएको छ ।
महाधिवेशनबाट उहाँहरूले पदाधिकारी २५ सदस्यीय बनाउनु भएको छ । युवा नेतृत्व भएपछि पार्टीमा व्यापक परिवर्तन गर्छौं भन्नुभएको थियो, तर अहिले युवामात्रै होइन, पुरानाहरू पनि समेटिएका छन् । समग्रमा कांग्रेसमा तीन पुस्ता देखिएका छन् । महाधिवेशनबाट गगनजी जस्तो युवा डाइनामिक नेतृत्व, विचार भएको नेतृत्वले पार्टी सभापतिको पदमात्र दुई वटा राख्नुभएन, अरु सबै पद र विषयहरूमा ‘कम्प्रोमाइज’ गरेर अगाडि बढ्नुभयो । यो पार्टीका लागि राम्रो होइन ।
पार्टी सभापति एउटा भए पनि बाँकी पद दुई, चारदेखि १५ वटासम्म पुगेका छन् । जो–जसलाई केन्द्रीय समिति र पदाधिकारीमा ल्याउनु छ, ती मान्छेको मुख र अनुहार हेरेर पद सिर्जना गरेको यो महाधिवेशनबाट देखिएको छ ।
सिद्धान्तले कार्यकर्तालाई बाँध्न सकिएन भने पदले कसैलाई पनि पार्टीमा अड्याउन सक्दैन । मान्छेहरू अवसरको खोजीमा हिँड्छन् । संगठन जम्बो बनाउँदैमा मत बढ्छ, लोकप्रिय पार्टी हुन्छ, गुमेको जनाधार फेरि फर्किन्छ भन्ने ग्यारेन्टी छैन । राजनीतिमा सिद्धान्त ठुलो कुरा हो । नैतिकता, मूल्य, मान्यता, आदर्श ठुला कुरा हुन् । त्यही नैतिक मूल्य–मान्यताभन्दा बाहिर गएर यसरी सौदाबाजीमा पदहरू सिर्जना गर्दै जाने हो भने कांग्रेसको हालत कम्युनिस्टहरूको जस्तै हुने निश्चितजस्तै छ । कम्युनिस्ट पार्टीहरूले केन्द्रीय समिति ६०० जनाभन्दा बढीको बनाए पनि निर्वाचनमा सिट त्यही बराबरको आयो त ? आएन नि ।
हाम्रो समाज अहिले पपुलिजममा रमाइरहेको छ । नेतृत्वको लोकप्रियताको पछाडि दगुरिरहेको छ । समाजले पहिलो २ वर्षमा एउटालाई भगवान बनाएर देवत्वकरण गर्छ ।
जनताको मन जितेर मत पाएर जित्ने सिट भनेको कार्यसमिति, केन्द्रीय कार्यसमिति जम्बो बनाएर, धेरै पद बनाएर आउने होइन । ठुलो कार्यसमिति र धेरै पदाधिकारी बनाएर पार्टी ठुलो हुने होइन । पार्टी भनेको विचारले चल्ने हो । अहिले कांग्रेसको राजनीति कता जान्छ भन्नेमा केन्द्रदेखि वडासम्मका कार्यकर्ताहरू अलमलमा छन् । राजनीति भनेको दर्शन हो, त्याग हो, समर्पण हो । त्यतिमात्र होइन, राजनीति भनेको असल र उदार प्रवृत्ति र पद्धति हो भन्ने कुरा कांग्रेसले कार्यकर्तालाई बुझाउन सकेको छैन ।
पहिलादेखि नै कांग्रेसमा डनवाद र धनवादको ठुलो प्रभाव छ भन्ने गरिन्थ्यो । त्यो प्रभाव अहिले पनि ज्यूँका त्यूँ छ । अहिले कांग्रेसमा टिकट पाएका, केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाहरू उनीहरूकै लागि छुट्ट्याइएको क्लस्टरबाट भएको समुदायको प्रतिनिधित्वबाहेक पहुँचवालाकै वर्चस्व छ । अर्कोतर्फ युवा भनेर फेरि कसलाई भन्ने ? सांसद पाँच, छ पटक भए पनि हुने, प्रधानमन्त्री र पार्टी सभापतिमात्र दुई पटक हुनुपर्छ भन्ने मान्यता बोक्नेलाई युवा भन्ने ? यस्ता विषय तर्क होइनन्, मेरो विचारमा कुतर्क मात्रै हुन् ।
राजनीतिमा यति वर्ष भन्ने हुँदैन । राजनीति भनेको त्याग र समर्पण हो । बाँचुन्जेलसम्म राजनीति गर्नेले सेवा दिन सक्छ भन्ने कुरा संसारमा हेर्दा पनि भेट्टाउन सकिन्छ । मलेसिया, अमेरिका र सिंगापुर २०, ३० र ४० वर्षका युवाहरूले नेतृत्व गरेर विकसित भएका हुन् र ? अवश्य पनि होइन । सबै ६०, ७० र ८० वर्ष उमेर पुगेका नेतृत्वको ‘भिजन’बाट विकसित भएका हुन् । स्वस्थ शरीर हुन्जेलसम्म, स्वस्थ मस्तिष्क हुन्जेलसम्म, स्वस्थ विचार हुन्जेलसम्म राजनीति गर्न पाउनुपर्छ । राजनीतिमा तैँले यति वर्ष खाइस्, अब मेरो पालो भनेर जुन आलोपालोको कुरा आउँछ, त्यहाँ केही कुरा खराबी छ है भनेर बुझ्नुपर्ने हुन्छ ।
हाम्रो समाज अहिले पपुलिजममा रमाइरहेको छ । नेतृत्वको लोकप्रियताको पछाडि दगुरिरहेको छ । समाजले पहिलो २ वर्षमा एउटालाई भगवान बनाएर देवत्वकरण गर्छ । त्यही समाजले दुई वर्षपछि त्यसैलाई, राक्षसीकरण गर्न पनि पछि परेको छैन । यो चुनौती हो । अहिले नेपाली कांग्रेस २ वटाजस्तो देखिएको छ । नियमित महाधिवेशनको टिमबाट आएका डा. शेखर कोइराला, शेरबहादुर देउवा, डा. शशांक कोइराला लगायतका नेताहरूले हामी वैधानिक भएको भनिरहनु भएको छ । उहाँहरूले पार्टीको वैधानिकता गगन थापाहरूले खोसेर लगेको बताइरहनुभएको छ । निर्वाचन आयोग र सर्वोच्चको संयुक्त इजलासले गगनजीहरूलाई आधिकारिकता दियो । त्यसविरुद्ध सर्वोच्च अदालतले शेरबहादुरहरूलाई निस्सा दिएको छ । यसले कांग्रेसमा आरोप–प्रत्यारोप चलिरहेको छ ।
पूर्णबहादुरको पछाडि लागेका मान्छेहरू गगनका प्यारा भइसकेका छन् । गगन र विश्वलाई तुरुन्तै कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव लैजानेहरू अहिले गगनकै प्रिय हुनु आफैँमा हास्यास्पद छ ।
अब निर्वाचन आइरहेको छ । कांग्रेसले जित्न ठुलो संघर्ष गर्नुपर्ने छ, जो कठिन छ, तर हराउनलाई कठिन छैन । गगनजीहरूले २.० को कांग्रेस भनिरहनु भएको छ । नारा लेखेर, गीत गाएर पार्टी बलियो हुँदैन । बलियो हुन नेतृत्व उदार हुनुपर्छ । नेतृत्वले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा कस्तो व्यवहार गर्छ भन्ने नागरिकले हेरिरहेका छन् । गगनजी नियमित महाधिवेशन गरेको भए पनि पार्टी सभापति हुनुहुन्थ्यो । उहाँसँग जो–कोहीले प्रतिस्पर्धा गर्न सक्थ्यो, तर प्रतिस्पर्धा खासै हुने अवस्था थिएन, तर लोकप्रिय हुँदाहुँदै पनि धेरै हतार गर्नुभयो । जसले कांग्रेस एकढिक्का रहने अवस्था रहेन । दुर्भाग्य, कांग्रेस एकढिक्का नराखेकाले अहिले उहाँले सामाजिक सञ्जालबाट आरोपहरू खेप्नुपरेको छ । पार्टीकै साथीभाइबाट उहाँ लक्षित टिप्पणी भइरहेका छन् । यो उहाँको कमजोरी हो । नेतृत्वको कमजोरी हो । नेतृत्वले जहिल्यै सबैलाई समेट्नु पर्छ ।
अर्कोतर्फ विश्वजी र गगनजी महामन्त्री हुने बेलामा किन महाधिवेशन गर्न नसकेको ? किन समयमा निर्णय गर्न नसकेको ? क्रियाशील सदस्यताका विवरणहरू उहाँहरूले नै अड्काएको भन्ने धेरैबाट आरोप लागिरहेको छ । एउटा महत्त्वपूर्ण पदमा हुने बेलामा सबै बिगारेको पार्टी सभापतिले हो, हामीलाई केही गर्न दिइएन भनिरहनु भयो । यो गलत थियो । शेरबहादुर देउवाका गल्ती नभएका होइनन्, छन् । पूर्णबहादुर खड्काका त थुप्रै गल्ती थिए । यो स्थिति ल्याउन पूर्णबहादुर नै जिम्मेवार हो । पटक–पटक गगनजीहरूसँग संवाद गरेर महाधिवेशन गर्नुको सट्टा गगनलाई अल्झाउने काममा शेरबहादुरलाई पनि ढाँटेर अल्झाउने पूर्णबहादुर हो । अहिले उनै पूर्णबहादुर गगनजीका प्यारा हुन खोजिरहेका छन् । पूर्णबहादुरको पछाडि लागेका मान्छेहरू गगनका प्यारा भइसकेका छन् । गगन र विश्वलाई तुरुन्तै कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव लैजानेहरू अहिले गगनकै प्रिय हुनु आफैँमा हास्यास्पद छ ।
सबैको आशा र भरोसा कांग्रेसमा छ । कांग्रेसले सबैलाई समेट्छ, सामाजिक न्याय दिन्छ र लोकतन्त्रको स्थापना गरेको कांग्रेसले यसको पनि जगेर्ना गर्नुपर्छ भन्ने नेतृत्वले बिर्सिन थाल्दैछन् । यो विषय नेतृत्वमा स्मरण हुनु आवश्यक छ । गगनजीहरूले स्मरण त गर्नुहोला, तर ढिलो भइसकेको हुनेछ । किनभने उहाँको आधी समूह, दाइभाइहरू छुट्टै महाधिवेशन गरेर छुट्टै पार्टीको निर्माणको अवस्थामा लागिसकेका हुन्छन् । आधिकारिकता कसको हुन्छ, अदालतको फैसलाले बताउला । आधिकारिकता गगनजीले पाए पनि पार्टी एक रहन गाह्रो छ । नेतृत्वमा पुगेपछि यो कुरा बुझ्न जरुरी थियो, तर बुझ्नु भएन ।
अर्कोतर्फ, गगनजीले शेरबहादुर टिमका मान्छेहरू सबै आउँछन् भनेर सिट बढाउने प्रपञ्च गर्नुभएको हो । जम्बो केन्द्रीय कार्यसमिति बनाउनुको मुख्य कारण धेरै सिटको मैले भेकेन्सी खोलेँ भने देउवातिरका सबै आउँछन्, सबैलाई सिट पुग्छ भन्ने नै देखिन्छ । उहाँले कुन–कुन क्लस्टरका मान्छे थप्दाखेरि देउवा समूहको कित्ता फेर्छन् भन्ने सोच्नुभयो, यसले पार्टीलाई पाइदा गर्छ कि घाटा भन्ने सोच्नुभएन । जम्बो केन्द्रीय कार्यसमितिको बैठक कहाँ बस्ने भन्नेमा ध्यान दिनुभएन । कांग्रेसको केन्द्रीय सदस्य भएपछि जुनखालको मानसम्मान हुन्थ्यो त्यो गुमेको छ ।
यत्रो संगठन गरेर आएको मान्छे, यति पटक सांसद, मन्त्री भएको मान्छे, प्रधानमन्त्री हुन्छु भनेर लागेको मान्छे गगनजीले यति कुरा बुझ्नुभएको छैन त भनेर हामीले कसरी भनौँ ? तर गल्ती गर्नुभयो । पछुताउने अवस्था आउन सक्छ ।
