काठमाण्डौ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघको नियमित अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
आज बसेको एन्फाका बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने २०८२ साल पुस १६ गतेको निर्णय बदर गर्दै नियमित चुनाव प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । संघले विज्ञप्ति निकालेर चुनावको प्रक्रिया अघि बढाउन संघको निलम्बन फुकुवा, संस्थागत स्वच्छता र स्वाधीन निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग सहयोगको आह्वान गरेको छ ।
एन्फाका अध्यक्ष र महासचिवसँग माग गरेको लिखित स्पष्टीकरणको जवाफ प्राप्त नभएपछि पुनः तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्न संघको अनुरोध गरेको छ । संघले निमित्त महासचिव दामोदर भट्टराईलाई एन्फा कार्यालय सञ्चालन, पत्राचार तथा नियमित प्रशासनिक गतिविधि सञ्चालन गर्न आवश्यक अधिकार प्रदान गरेको छ ।
त्यस्तै बैठकले फिफा १५ वर्षमुनिको फेस्टिभलमा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल खेलाडीहरू र प्रशिक्षकलाई जनही ५०/५० हजार र अफिसियललाई जनही ३०/३० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
