"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मंसिरमा बक्स अफिस तताउँदै ६ फिल्म : कमेडियनको अग्निपरीक्षा, स्टारहरू आमनेसामने

Table of Content

काठमाडौँ । नेपाली फिल्मको बक्स अफिसका लागि कात्तिक महिना समग्रमा सुखद नै मान्न सकिन्छ । ‘कबड्डी ५’, ‘पाँच पाण्डव’ र ‘बाटुलो जुन’ गरी तीन फिल्म प्रदर्शनमा आएको यो महिना दयाहाङ राई अभिनीत ‘कबड्डी ५’ १२ करोडभन्दा बढीको व्यवसायसहित अघि बढिरहेको छ । तर, हरिवंश आचार्य अभिनीत ‘पाँच पाण्डव’ भने विभिन्न विवादमा फसेका कारण बक्स अफिसमा नराम्रोसँग पछारिन पुग्यो । अनमोल केसी अभिनीत ‘बाटुलो जुन’को सुरुवाती दिनमा हलमा दर्शकको चहलपहल देखिए पनि समग्र व्यवसाय कस्तो रहन्छ, अहिले नै भन्न सकिने अवस्था छैन ।

कात्तिकको उतारचढावपूर्ण माहोलबीच आगामी मंसिर महिनामा बक्स अफिसमा झनै प्रतिस्पर्धात्मक अवस्था बन्ने अनुमान गरिएको छ । हालसम्मको रिलिज क्यालेन्डरअनुसार मंसिरमा ६ फिल्म प्रदर्शनमा आउने तय छ । पहिलो साता ‘जलाकी’ र ‘हिमालयन गोल्ड’, दोस्रो साता ‘ककाकिकी’ र ‘सारथी’ तथा तेस्रो साता ‘३६ को आँकडा’ र ‘सिन्दुरे जात्रा’ प्रदर्शनमा आउँदैछन् ।

रोचक त के छ भने सुरुवाती तीन साता लगातार दुई–दुई फिल्म भिड्दैछन् भने अन्तिम साता अर्थात् मंसिर २५ गतेका लागि हालसम्म कुनै फिल्म तय भएको छैन । यद्यपि, वितरक रोहित कट्टेल भने त्यो मिति पनि खाली नहुने बताउँछन् ।

‘अहिले फिल्म धेरै बनेका छन्’, कट्टेल भन्छन्, ‘रिलिजका लागि मिति पाउन गाह्रो छ । मंसिर किन खाली हुन्थ्यो र !’

सांस्कृतिक र यार्सागुम्बाको कथा
मंसिरको पहिलो साता अर्थात् ४ गते प्रदर्शनमा आउन लागेका ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ दुई फरक धारमा बनेका फिल्म हुन् । अशोक थापा मगर निर्देशित ‘जलाकी’ले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई कथाका रूपमा उठाएको छ भने धिरज राजवंशी निर्देशित ‘हिमालयन गोल्ड’ले यार्सागुम्बा टिप्ने कथा समेटेको छ ।

उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर र विशेष भूमिकामा क्याप्टेन विजय लामाको मुख्य भूमिका रहेको ‘जलाकी’ एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मबाट ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बूले डेब्यु गर्दैछिन् ।

jalaki_RUCqoiJm0M.webp

ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्मित फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछन् ।

‘हिमालयन गोल्ड’ भने विश्वव्यापी दर्शकलाई लक्षित गरेर बनाइएको फिल्म हो । लसएन्जल्समा फिल्म अध्ययन गरेका निर्देशक राजवंशीले ‘खुस्मा’ फिल्मको चिफ एडी हुँदा रुकुममा यार्सागुम्बा टिप्ने सिजनमा सन् १९९० ताका सुरक्षाको अभावमा हुने लुटपाटको कथा सुनेका थिए । त्यही कथालाई आधार बनाएर उनले मुस्ताङको चार हजार आठ सय मिटरमाथिको लोमान्थाङ र बत्ती नभएको टकमारमा छायांकन गरेका हुन् ।

sunil-sharma-himalayan-gold-1024x512

सर्भाइभल थ्रिलर भनिएको फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातको कथा समेटेको छ । चार लुटेराले यार्सागुम्बा लुट्दा एक परिवारमा पर्ने प्रभाव फिल्ममा देखाइएको छ । अभिनेत्री परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्ममा कर्मा शाक्य र सजन थापा मगर छन् भने दिग्गज अभिनेता सुनील थापा मुख्य खलनायकका रूपमा देखिएका छन् । दिवंगत थापाको यो अन्तिम फिल्म भएको बताइएको छ ।

मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ र सबिता अधिकारीलगायतको अभिनय रहेको फिल्म अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा मीनबहादुर भामले निर्माण गरेका हुन् । भारतमा समेत रिलिज हुने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्स र भारतमा ‘बाहुबली’, ‘आरआरआर’ तथा ‘केजिएफ’का वितरक ए ए फिल्म्सले वितरण गर्नेछन् ।

कमेडियनको अग्निपरीक्षा
मंसिरको दोस्रो साता अर्थात् ११ गते ‘ककाकिकी’ र ‘सारथी’ प्रदर्शन हुँदैछन् । गत भदौ १९ गतेबाट बाढीका कारण प्रदर्शन मिति सरेको ‘ककाकिकी’ कमेडियनले भरिएको फिल्म हो ।

कमेडियन बिक्की अग्रवालले निर्देशन गरेको यो फिल्म ‘कमेडी दरबार’ रियालिटी शो निर्माण तथा निर्देशन गरेर चर्चा कमाएका बिक्कीको निर्देशनमा डेब्यु फिल्म पनि हो । त्यसैले यो फिल्म उनको अग्निपरीक्षा पनि बनेको छ ।

ka-kaa-ki-kii-_poster_final_ZzX4Px3DzH.jpg

फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, मनोज गजुरेललगायत कमेडियनका साथै माओत्से गुरुङ र मुकुन्द मैनालीको अभिनय छ । फिल्मको कथा समसामयिक विषयमा आधारित रहेको बताइएको छ ।

कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको ‘सारथी’मा नयाँ र पुराना कलाकारको मिश्रण छ । म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा र धिरेन कार्कीलगायतको अभिनय देख्न सकिन्छ ।

sarathi_e7o48xaiu0_76JaXpqjer.jpg

‘ककाकिकी’ श्रद्धा प्रसाईँ र सुमित्रा थापा निर्मित फिल्म हो । सरोज भण्डारी तथा विकास अर्यालको पटकथा रहेको फिल्मलाई सेभेन सिज इन्टरनेसनल फिल्म्सले विश्वव्यापी रूपमा रिलिज गर्नेछ ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको ‘सारथी’का प्रस्तुतकर्ता तथा सम्पादक तारा थापा ‘किम्भे’ हुन् भने रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेका छन् । निर्माण युनिटले फिल्मको कथा खुलाएको छैन । यद्यपि, प्रचार सामग्रीमा अभिनेत्री निरुतालाई काखमा दुधे बालक बोकेको गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । यसले फिल्मको कथा आमा–छोरामा केन्द्रित हुन सक्ने अनुमान गरिएको छ ।

स्टारहरूको भिडन्त
मंसिर १७ अर्थात् तेस्रो साता बक्स अफिसमा स्टारहरूको भिडन्त हुने देखिएको छ । यो मितिमा पुराना स्टारहरू रेखा थापा र पूजा शर्मालगायत अभिनीत ‘३६ को आँकडा’ तथा पछिल्लो समयका स्टार विजय बराल र अञ्जना बराइली अभिनीत ‘सिन्दुरे जात्रा’ भिड्दैछन् ।

सबिर श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘३६ को आँकडा’मा रेखा र पूजाका अलावा निरूता सिंह, महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा र विशेष भूमिकामा निशा अधिकारीलाई देख्न सकिन्छ । फिल्म रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठले निर्माण गरेका हुन् ।

36-ko-aankanda_1NCUKjPNn7.jpg

फिल्ममा शिवम् अधिकारीको पटकथा, ईश्वर सिन्केमनको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा बनिश शाह र रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।

‘सिन्दुरे जात्रा’ सरोज पौडेलले निर्देशन गरेका हुन् । ‘पूर्णबहादुरको सारङ्गी’जस्तो ब्लकबस्टर फिल्म बनाएका निर्देशक पौडेलले यसमा पनि त्यही जोडी विजय बराल र अञ्जना बराइलीलाई लिएका छन् ।

sindure-jatra_p580lLNbaE.webp

फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, कमलमणि नेपाल, भोला राज सापकोटा र देशभक्त खनाललगायतको पनि अभिनय छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा नेम महर्जन निर्मित फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन, पदमबहादुर श्रेष्ठ (बाबु)को डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ । फिल्मको थिएटर पार्टनर बिग मुभिज र डिजिटल पार्टनर ओएसआर डिजिटल हुन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका नागरिकले यस पटक दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आउँदो चुनावमा भोट माग्न नजाने घोषणा गर्नुभएको छ । छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी नागरिकको आशा र विश्वासलाई निराशामा बदल्न नदिने बताउनुभएको हो । उहाँले वर्तमान अवसर कुनै व्यक्तिको...

मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान

काठमाण्डौ – मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको हो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने...

विधान अनुसार नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने एन्फाको निर्णय

काठमाण्डौ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघको नियमित अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आज बसेको एन्फाका बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने २०८२ साल पुस १६ गतेको निर्णय बदर गर्दै नियमित चुनाव प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । संघले विज्ञप्ति निकालेर चुनावको प्रक्रिया अघि बढाउन संघको निलम्बन फुकुवा, संस्थागत स्वच्छता र...

कात्तिक नाचमा ७८ वर्षपछि आजदेखि माध वानर नाच देखाइँदै

काठमाण्डौ – ललितपुर पाटनको कात्तिक डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच अन्र्तगत आजदेखि  माध वानर नाच प्रर्दशन हुने भएको छ । ७८ वर्षपछि देखाउन लागेको माध वानर नाच यसपालि मुख्य विशेषता रहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभएको छ । आजदेखि चार दिनसम्म माध वानर लीलामा विभिन्न राजाहरुको कथामा आधारित नृत्य प्रर्दशन हुनेछ...

हात्ती आतङ्क : नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् । हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०