काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । चितवनले हिजो शुक्रबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ ।
अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । हिजो चितवनको जीतसँगै पहिलो संस्करणको च्याम्पियन जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।
यसअघि तेस्रो संस्करणमा पोखरा एभेन्र्जस प्ले अफ होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । एनपीएलमा अघिल्लो दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्स यसपटक पनि अन्तिम चारमा पुग्न सफल भएको छ ।
सुदूरपश्चिमले हिजो भएको पहिलो खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफ पुगेको हो । यसअघि लुम्बिनी लायन्स पनि प्ले अफमा पुगिसकेको छ ।
एनपीएलमा आज शनिबार हुने एउटा खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ ।
तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् । हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ ।
