म्याड्रिड । बढ्दो महँगी, घरभाडा र आवास सङ्कटको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा राजधानी म्याड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । देशका प्रमुख मजदुर सङ्गठनहरूको आह्वानमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।
प्रदर्शनमा म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएर तोडफोड गरेका थिए । केही समूहले प्रहरीतर्फ आतिशबाजी प्रहार गर्नुका साथै पसलमा लुटपाट गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको स्पेनको गृह मन्त्रालयले जनाएको छ ।
आमहडतालका कारण देशभर यातायात तथा सार्वजनिक सेवा प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका मुख्य सडकमा यातायात अवरुद्ध हुँदा जनजीवनसमेत प्रभावित भएको थियो ।
यद्यपि, बार्सिलोनामा भएको प्रदर्शनको ठूलो हिस्सा शान्तिपूर्ण रहेको सहभागीहरूले बताएका छन् । प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी थिए । आवास खर्चको विरोधमा सडकमा उत्रिएकी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आम्दानीको तुलनामा दैनिक उपभोग्य वस्तु र घरभाडाको खर्च अत्यधिक बढेकाले जीवनयापन कठिन बनेको बताइन् ।
स्पेनका प्रमुख मजदुर सङ्गठन युजीटीका प्रमुख पेपे अल्भारेजले हडतालमा विशाल सहभागिता रहेको भन्दै यसलाई सफल भएको बताएका छन् । त्यस्तै, सीसी ओओ सङ्गठनका नेता उनाइ सोर्डोले प्रदर्शनमा देखिएको सहभागिता निकै महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
स्पेनमा पछिल्ला वर्षहरूमा घरभाडा र दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै गएपछि सुलभ आवासको मागसहित विरोध प्रदर्शन हुँदै आएको छ । म्याड्रिडमा सात दशकदेखि एउटै फ्ल्याटमा बस्दै आएकी ८७ वर्षीया मारिकार्मेन अबास्काललाई घरबाट निकालिएपछि आवास सङ्कटविरुद्धको आन्दोलन थप चर्किएको थियो । घरबाट निकालिएको केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो । यस घटनाले सुलभ आवासको मागलाई थप व्यापक बनाएको थियो ।
घरजग्गासम्बन्धी पोर्टल आइडियालिस्टाका अनुसार म्याड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा अक्टोबरमा एक हजार १७० युरो पुगेको थियो। स्पेनको औसत मासिक कुल तलब करिब दुई हजार ४६० युरो रहेकाले एउटा सानो अपार्टमेन्टको भाडामै औसत तलबको झन्डै आधा रकम खर्च हुने अवस्था छ । आवास विज्ञ तथा सार्वजनिक संस्थाहरूले आम्दानीको ३० प्रतिशतभन्दा बढी रकम आवासमा खर्च गर्नुलाई आर्थिक रूपमा बोझिलो मान्दै आएका छन् ।
संसद्बाट आवास सुधारसम्बन्धी योजना पारित हुन नसकेपछि प्रधानमन्त्री पेद्रो सान्चेजले समयअगावै निर्वाचन घोषणा गरेका छन् । आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुने तय भएको छ । प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले समेत सुलभ आवासको माग गर्दै कामदारहरूलाई हडतालमा सहभागी हुन प्रोत्साहित गरेका छन् ।
सन् २०१२ मा तत्कालीन रूढीवादी प्रधानमन्त्री मारियानो राजोयको सरकारका पालामा भएको आमहडतालपछि स्पेनमा पहिलोपटक देशव्यापी रूपमा यस्तो हडताल भएको हो। यसपटकको आन्दोलनले बढ्दो जीवनयापन खर्च, घरभाडा र सर्वसाधारणका लागि सुलभ आवासको अभावलाई स्पेनको प्रमुख सामाजिक मुद्दाका रूपमा पुनः सतहमा ल्याएको छ ।
