बिर्सने रोग ‘डिमेन्सिया’ रोकथाम र पहिचानका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) र तथ्याङ्क प्रणाली विकास गर्न बेलायतमा दुई करोड पाउन्ड खर्च गरेर अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने ‘ब्रेनिआक हब’ लाई बेलायतको एउटा अनुसन्धान संस्था र नेश्नल हेल्थ सर्भिस ‘एनएचएस’का साझेदारहरूले एक/एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका हुन् । विश्वविद्यालयका अनुसार केन्द्रले मस्तिष्कको अवस्था, आनुवंशिक जानकारी, रक्तसम्बन्धी जैविक जानकारी र डिजिटल परीक्षणलाई संयोजन गर्ने एआई विकास गर्ने छ ।
यसले व्यक्तिको मस्तिष्क स्वास्थ्यको स्पष्ट चित्र तयार गर्न मद्दत गर्ने दाबी गरिएको बीबीसीले जनाएको छ । यो अनुदान ६ वर्षे परियोजनाका लागि प्रदान गरिएको हो, जसअन्तर्गत डिमेन्सियाको पहिचान र रोकथामका लागि शुरूवाती क्लिनिकहरू सन् २०२९ मा सञ्चालनमा आउने छन् ।
शुरुमा ती क्लिनिकमा एनएचएसमार्फत् सिफारिस गरिएका व्यक्तिहरू मात्रै जाने छन् । परियोजनामा बेलायतभरका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिक सहभागी हुने छन् । डिमेन्सिया पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपायबारे अनुसन्धान गर्न यो विश्वकै ठूलो अनुसन्धान निकायमध्येको एक बन्ने लक्ष्य राखिएको छ ।
