काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुग्नुभएको छ ।
आजदेखि शुरु भई मङ्सिर ४ गतेसम्म चल्ने सम्मेलनको उद्घाटनसत्रलाई आज उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । नेपालले यो सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई उठाउने तयारी गरेको छ ।
सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो ।
परराष्ट्रमन्त्री खनालले पर्सि २५ र २६ गते हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ ।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनाल सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुने, समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेलगायतका कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल कात्तिक २८ गते स्वदेश फर्कनुहुनेछ ।
