काठमाण्डौ – यसवर्ष लक्ष्मीपूजाको दिन हिजो आइतबार बेलुका १ हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हिजो बेलुका सवा ६ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग अर्थात् (पीक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । त्यसबेला देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो ।
आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको दिन बिजुलीको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठ हिजो बेलुका ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापन टोलीसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो । अबका दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
प्राधिकरणका अनुसार यसवर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९ मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।
प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रका झण्डै ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पोहोर लक्ष्मीपूजामा बिजुलीको उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो । त्यस्तै हिजो काठमाण्डौ उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ ।
गएको वर्ष ४०२ मेगावाट रहेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो ।
