हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा आएको छ । शुक्रबारदेखि अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो । अस्पताल सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य सेवाका लागि हेटौँडा र चितवन धाउनुपर्ने बागमती गाउँपालिकावासीको बाध्यता हटेको छ ।
बागमती गाउँपालिका–५ मा सङ्घीय सरकारको करिब १८ करोड रुपियाँको लगानीमा निर्माण गरिएको अस्पताल भवन तीन वर्षअघि निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । अस्पतालले बागमती गाउँपालिकाका नौवटै वडाका बासिन्दासँगै छिमेकी बकैया गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका तथा काभ्रेको महाभारत गाउँपालिकाका सेवाग्राहीलाई समेत सेवा दिने पालिका प्रवक्ता तथा ३ नंं वडाध्यक्ष कमान सिं पाख्रिनले जानकारी दिए ।
अस्पतालमा सुत्केरी सेवा, बहिरङ्ग सेवा, दन्त सेवा, आँखा परीक्षण, खोप सेवा, भिडियो एक्स–रे तथा प्रयोगशाला सेवासहितका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । अस्पतालमा चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी कार्यरत रहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिनेशकुमार गुप्ताले जानकारी दिए ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक जनशक्ति र सेवा विस्तार गर्दै लगिएको हो ।
गाउँमै स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय विवेक सिङ्तानले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको बताउँदै अस्पताल सञ्चालनसँगै स्थानीय नागरिकलाई समय र खर्च दुवै बचत हुने विश्वास व्यक्त गरे ।
बागमती गाउँपालिकामा नौवटै वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । आधारभूत अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच थप विस्तार भएको स्थानीयवासीको अपेक्षा छ । यहाँबाट अब एकीकृत स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
