काठमाण्डौ – सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आउँदो पुस मसान्तसम्म थप गरेको छ ।
यसअघि यही कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ ।
कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गर्नुभएको छ । कार्यालयमा नयाँ कम्पनी दर्ता हुने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आर्थिक वर्ष २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा पाँच हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन् । रजिष्ट्रार श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् ।
विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उहाँको भनाइ छ ।
