काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ को प्रभाव नेपालबाट हटिसकेको छ ।
तर यहीबेला बंगालको खाडीमा अर्को प्रणाली विकास भैरहेको छ । जुन ‘अर्नब’ भन्दा कमजोर देखिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो विकसित प्रणाली आज दिउँसोसम्म दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । अनि पर्सि मंगलबार बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने र तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ ।
यसले ‘अर्नब’ चक्रवात जस्तो धेरै पानी नपार्ने प्रारम्भिक विश्लेषण छ । ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्दा बिहीबार बेलुकादेखि अस्ति शुक्रबार र हिजो शनिबार तीन दिन वर्षा र हिमपात भएको थियो ।
तर, अहिले विकसित नयाँ प्रणालीको असर उल्लेखनीय रुपमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नयाँ प्रणालीको निरन्तर निगरानी भैरहेको र आवश्यकताअनुसार थप अद्यावधिक सूचना प्रकाशित हुने महाशाखाको भनाइ छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिलेसम्मको विश्लेषणमा नयाँ प्रणालीले नेपालमा ठूलो प्रभाव पर्ने देखिएको छैन । भोलिदेखि कृषि कर्म, धानबाली काट्ने, भित्र्याउनेसहित पदयात्रा तथा अन्य गतिविधि गर्न सकिने उहाँले बताउनुभएको छ ।
