काठमाण्डौ – नयाँ तथा पुराना गाडी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ ।
विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै गाडी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।
विभागका अनुसार पछिल्लो निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक गाडीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ ।
त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाडी जाँच गराउनुपर्ने छैन । त्यस्तै, गाडी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार गाडीको बीमा गर्न वा बीमा नवीकरण गर्नसमेत गाडी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ ।
