काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनुभएको छ ।
विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभएको हो ।
सुनारले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयाे । उहाँले पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुनुपर्ने अवस्था आए त्यसलाई समेत सामना गर्ने र सांसद पदबाट निलम्बन गर्नुपरे पनि तयार रहेको बताउनुभएको छ । आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाइ छ ।
सार्वजनिक भएको अडियो एआईबाट बनाएकाे दाबी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोपसमेत लगाउनुभएको छ । यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ ।
रास्वपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
यसै प्रकरणमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । आयोगले स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ ।
सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
