चितवन,असोज २२-
माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो ।
नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरणको सूनिश्चितता गर्नु पर्ने नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । उहाँले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम राख्न संयुक्त अनुगमन टोली गठनगरी काम गर्ने बताउनुभयो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै स्वच्छ र स्वस्थ मासु मात्रै बिक्री गर्न पाइने बताउनुभयो । छालाविहीन मासु बिक्री गर्नुपर्ने र बिरामी मरेका पशुको बध गरेर बिक्री गर्न नपाइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसका लागि पशु बधस्थल र मासु बिक्री कक्ष फरक हुनुपर्ने र कोलचेन मासु राखिएको ठाउँको तापक्रममा ध्यान दिनुपर्छ ।”
जिल्लाका अन्य पालिकामा पनि मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन दबाब परेको छ । अहिले जिल्लामा बधस्थल अस्तव्यस्त रुपमा छन् ।
