काठमाण्डाै – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।
मन्त्रिपरिषद् बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झन्डै १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रवक्ता पाेखरेलका अनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका बुँदा फिर्ता गर्न सकिने/नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्वन्यायधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यस्तै सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
