बेलायतमा एक हप्तामै कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ भनेर चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको ‘टाइम्स नाउ’ ले जनाएको छ ।
विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार बेलायतको ‘हेल्थ सेक्युरिटी एजेन्सी’ (यूकेएचएसए) को नयाँ तथ्याङ्कले प्रति १ लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर ०.८१ बाट बढेर १.२० पुगेको देखाएको छ । यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात् ७९ प्रतिशतको वृद्धि देखिएको छ ।
ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन् । ८५ वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति १ लाखमा ७.०८ बाट बढेर १२.४३ पुगेको छ ।
यसैबीच अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । महामारी बेलाको तुलनामा अहिले कोभिड परीक्षण गराउने मानिसहरूको सङ्ख्या निकै कम छ ।
यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ ।
हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले अस्पताल भर्ना हुने दरलाई अझै पनि आधारभूत स्तरमै रहेको मान्दछ ।
बेलायतमा गएको अगस्टको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित ७ जनाको ज्यान गएको थियो । यस्तै त्यसअघिको सातामा ६ जनाको ज्यान गएको विवरण छ ।
