नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी ब्युरोले हिजो सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको देखिएको छ ।
यो प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याई गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । ब्युरोका अनुसार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो । यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले यसअघि गएको कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको थियो ।
