भरतपुर (चितवन) । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयद्वारा आयोजित दुईदिने बृहत् देउसीभैलो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।
तिहार–२०८३ को अवसरमा विद्यालयले कार्तिक २२ र २३ गते आफ्नो सेवाक्षेत्रभित्रका विभिन्न टोल तथा चोकहरूमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्थानीय टोलवासीहरूको उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
भरतपुर–११ का वडाध्यक्ष एवम् देउसीभैलो मूल समारोह समितिका संयोजक कमलबहादुर मल्लले तिहारको सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै परम्परागतरूपमा देउसी गाउँदै कार्यक्रमको उद्घाटन गरेका थएि। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको मौलिक जातीय भेषभूषामा सजिएर लोकगीतमा आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए।
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू समेत देउसीभैलोमा सहभागी भई नाचगान गर्दै रमाउनुका साथै कार्यक्रममा सहयोग गरेका थिए। यसले नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायमाझ समेत आकर्षणको विषय रहेको सन्देश दिएको विद्यालयले जनाएको छ।

कार्यक्रमबाट सङ्कलित रकम विद्यालयको शैक्षिक उन्नयन, सांस्कृतिक पक्षको विकासका लागि सङ्गीत कक्षको सुधार तथा जुनियर रेडक्रस सर्कल (जुरेस) कक्षको स्तरोन्नति र सबलीकरणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए।
देउसीभैलो मनोरञ्जन र आर्थिक संकलनको माध्यम मात्र नभई नयाँ पुस्तालाई आफ्ना मौलिक चाडपर्व, लोकगीत, नाचगान र सामाजिक एकताको महत्त्व बुझाउने अवसरसमेत रहेको विद्यालयका सहप्रधानाध्यापक कुस्माखर न्यौपानेले बताए।
कार्यक्रमलाई सफल बनाउन ध्वनि तथा यातायात व्यवस्थापन उपसमितिको संयोजन शिक्षक वेदनाथ अधिकारीले, वाद्य सामग्री व्यवस्थापन उपसमितिको संयोजन सहप्रधानाध्यापक परशुराम बस्नेतले तथा स्वयंसेवक परिचालन र अनुशासन मूल्याङ्कन समितिको संयोजन शिक्षक श्रीप्रसाद खतिवडाले गरेका थिए। शिक्षकहरू कृष्ण सुदामा र तारादेवी बस्यालले देउसी भट्याउने तथा कार्यक्रम सञ्चालन गर्ने गरेका थिए।
दुई दिने कार्यक्रमबाट करिब साढे तीनलाख रुपैयाँ सहयोग सङ्कलन भएको आर्थिक उपसमितिका संयोजक शिक्षक नवराज पौडेलले जानकारी दिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोलवासी, अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

