वीरगञ्ज । लोकआस्थाको महापर्व छठ पूजाको अवसरमा नेपाली सेनाले यस वर्ष पनि छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने भएको छ । छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई मात्रै नेपाली सेनाले सलामी अर्पण गर्ने परम्परा रहेको थियो । तर, गत वर्षको छठ पूजादेखि वीरगञ्जमा छठी माई र सूर्य भगवानलाई समेत सेनाले सलामी अर्पण गर्न थालेको हो ।
वीरगञ्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुग्नेछ । निर्धारित मार्गको परिक्रमा गर्दै छठघाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेपछि सेनाको टोलीले छठी माई र सूर्य भगवानलाई सैनिक विधिअनुसार सलामी अर्पण गर्ने प्रमुख सेनानी कार्कीले जानकारी दिए ।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन लागिएको उनले बताए । छठ पर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै कार्कीले नेपाली सेनाले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएको बताए ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार छठ पर्वको इतिहासमा सम्भवतः गत वर्ष पहिलो पटक नेपाली सेनाले छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने परम्पराको सुरुवात गरेको हो ।
उनले गत वर्ष स्थानीयवासी छलफल तथा परामर्श गरेपछि नेपाली सेनालाई आग्रह गरिएको र सेना पनि सहमत भएपछि उक्त कार्यक्रम सुरु भएको बताए । यस वर्ष पनि सेनाले उक्त परम्परालाई निरन्तरता दिन लागेकोमा उनले खुसी व्यक्त गरे ।
धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वमा नेपाली सेनाको सहभागिता तथा सलामी कार्यक्रमले पर्वको गरिमा थप बढाउने अपेक्षा गरिएको छ ।
