काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् ।
टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा अचेल यस्ता विज्ञापन भेटिन्छन्– बिनाझन्झट, सस्तो मूल्यमा युरोपको ग्यारेन्टी भिसा । आकर्षक तलब, आजै सम्पर्क गर्नुस् ।
फेसबुक, इन्स्टाग्रामभन्दा पनि बढी टिकटकमा यस्ता विज्ञापन धेरै भेटिन्छन् । सामाजिक सञ्जाल खोल्नेबित्तिकै यस्ता आकर्षक विज्ञापन देखिन्छन् । यस्तै आकर्षक विज्ञापन देखेरै मानिसहरू उनीहरूको सम्पर्कमा पुग्छन् ।
सबै डकुमेन्ट बुझाएसँगै प्रक्रियाका लागि मात्रै २ लाख लाग्ने तर जान लाखौँ रुपैयाँ लिने गरेको खुलेको छ । पछिल्लो समय दिन प्रतिदिन वैदेशिक रोजगारीमा ठगी बढेसँगै प्रहरीले ठगी गर्नेलाई पक्राउ गरिरहेको छ ।
मंगलबार मात्र प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनीबेँसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै ७ लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै ६ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै २ लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।
सरकारले सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गरेर ठगी गर्नेहरूलाई पनि निगरानी गर्न थालेको छ ।
समाजिक सञ्जालमा पछिल्लो बेलायत, अस्ट्रिया, इटाली, माल्टा, क्रोएसिया, रोमानिया, पोल्यान्डलगायत देशमा सजिलै पुर्याइदिने भन्दै बनाइएका यस्ता छोटा भिडिओहरूले अहिले धेरै नेपाली युवाको ध्यान तानिरहेका छन् । तर यी लोभलाग्दा भिडिओ र विज्ञापनको पर्दापछाडि डरलाग्दो ठगी धन्दा फैलिरहेको छ ।
कारबाही तीव्र बनाइएको छ : विभाग
तर यता वैदेशिक रोजगार विभागले सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत युरोपलगायत देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोहमाथि कारबाही तीव्र पारेको जनाएको छ ।
पछिल्लो समय टिकटक र फेसबुकमा दुई लाखमै युरोप जान पाइने र महिनाको १० लाखसम्म कमाइ हुनेजस्ता आकर्षक तर भ्रामक विज्ञापन राखेर सर्वसाधारणलाई ठग्ने क्रम बढेपछि विभागले डिजिटल निगरानी बढाएको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा यस्ता विज्ञापन छ्यापछ्याप्ती भेटिन थालेको विषयमा ध्यानाकर्षण गराउँदा महानिर्देशक ढकालले यस्ता शंकास्पद लिङ्क र विज्ञापनहरूको जानकारी विभागलाई दिनसमेत आग्रह गरेका छन् ।
विभागका महानिर्देशक नवराज ढकालले यस्ता अवैध र भ्रामक विज्ञापन गर्ने पेज तथा अकाउन्टहरू बन्द गराउन नेपाल प्रहरीको साइबर ब्युरोसँग मिलेर काम गरिरहेको जानकारी दिएका छन् ।
‘हामीले यस विषयमा गम्भीर रूपमा काम गरिरहेका छौँ,’ महानिर्देशक ढकालले भने, ‘सामाजिक सञ्जालमा यस्ता भ्रामक विज्ञापन गर्ने साइट र पेजहरू पत्ता लगाएर तिनलाई निष्क्रिय गर्न साइबर ब्युरोसँगको समन्वयमा प्रक्रिया बढाइएको छ ।’
सामाजिक सञ्जालमा यस्ता विज्ञापन छ्यापछ्याप्ती भेटिन थालेको विषयमा ध्यानाकर्षण गराउँदा महानिर्देशक ढकालले यस्ता शंकास्पद लिङ्क र विज्ञापनहरूको जानकारी विभागलाई दिनसमेत आग्रह गरेका छन् ।
बिनाइजाजत वा भ्रामक सूचना राखेर सामाजिक सञ्जालबाट वैदेशिक रोजगारको विज्ञापन गर्नु गैरकानुनी मानिन्छ । विभागले लामो समयदेखि यस्ता ठगीका घटनामा अनुगमन र कारबाही गर्दै आएको भए पनि पछिल्लो समय दलालहरूले प्रविधिको दुरुपयोग गरी अनलाइनबाटै ठगी गर्ने क्रम बढाएपछि विभागले साइबर ब्युरोसँग मिलेर काम गरिरहेको जनाएको छ ।
सुरुमा २ लाखको आस, पछि १० लाखसम्मको पासो
सामाजिक सञ्जालमा देखिने विज्ञापनमा एजेन्टहरूले निकै सस्तो प्याकेज अफर गर्छन् । ‘सुरुमा मात्र २ लाख रुपैयाँ बुझाए पुग्छ, बाँकी रकम युरोप पुगेर काम गर्न थालेपछि तिर्दा हुन्छ’ भन्ने जस्ता मिठा आश्वासन दिएर बेरोजगार युवालाई सजिलै पासोमा पारिन्छ ।
विद्यार्थीको रूपमा यूके पुग्ने, त्यहाँ पाइला टेक्नेबित्तिकै पढाइ छाड्ने र लुकिछिपी पोर्चुगल, इटाली, ग्रीस, साइप्रसजस्ता युरोपेली देशहरूमा काम गर्न जाने । यूके हुँदै युरोप छिर्ने सपना देखाएर मोटो रकम असुल्ने र बिचल्लीमा पार्ने क्रम निकै बढेको छ ।
तर, जब सर्वसाधारणले उनीहरूलाई विश्वास गरेर राहदानी र अग्रिम रकम बुझाउँछन्, त्यसपछि ठगीको सक्कली खेल सुरु हुन्छ । प्रक्रिया अघि बढेको बहाना बनाउँदै, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट, भिसा प्रोसेसिङ, डकुमेन्टेसन माग्ने गरेका छन् ।
टिकटको नाममा पटक–पटक गरी ६ लाखदेखि १० लाख रुपैयाँसम्म असुल गरिन्छ । जब युवाहरूले आफ्नो सबै जायजेथा बेचेर वा ऋण काढेर पैसा बुझाउँछन्, त्यसपछि ती आकर्षक विज्ञापन बनाउने सम्पर्कविहीन हुन्छन् । फेसबुक, भाइबर र ह्वाट्सएपमा ब्लक गरेर एजेन्टहरू फरार भएपछि मात्र पीडितहरूले आफू ठगिएको मेसो पाउँछन् ।
वैदेशिक रोजगार विभागकाका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई आकर्षक आम्दानी हुने देश पुर्याइदिने प्रलोभन दिएर पैसा र पासपोर्ट लिएर ठगी गरेको उजुरीको चाङ लागेको छ । इजाजत नै नलिएका व्यक्ति र गिरोहले देशभित्र र बाहिर बसेर यस्तो अवैध धन्दा चलाइरहेका छन् ।
यूकेको विद्यार्थी भिसादेखि युरोपको लेबर मार्केटसम्म
पछिल्लो समय ठगीको प्रकृति र गन्तव्य पनि फेरिएको छ । खाडी मुलुकभन्दा युरोप र क्यानडा मोह बढेसँगै दलालहरूले नयाँ–नयाँ छिद्रहरू खोज्न थालेका छन् । श्रम विज्ञहरूका अनुसार अहिले ठगीको एउटा ठुलो सञ्जाल विद्यार्थी भिसाको दुरुपयोगमा सक्रिय छ ।
खासगरी बेलायतमा विश्वविद्यालयमा पढ्न पठाउने र त्यहीँबाट प्रशस्त कमाइ हुने काम पाइने भन्दै विद्यार्थी र तिनका अभिभावकलाई भ्रममा पारिन्छ । बेरोजगार भएर छट्पटाइरहेका युवालाई यूकेका विभिन्न कलेजको नामबाट नक्कली वा सक्कली एसेप्टेन्स लेटर मगाएर पठाइन्छ । तर, यसको भित्री उद्देश्य पढाइ हुँदैन ।
नयाँ ट्रेन्ड कस्तो देखिन थालेको छ । विद्यार्थीको रूपमा यूके पुग्ने, त्यहाँ पाइला टेक्नेबित्तिकै पढाइ छाड्ने र लुकिछिपी पोर्चुगल, इटाली, ग्रीस, साइप्रसजस्ता युरोपेली देशहरूमा काम गर्न जाने । यूके हुँदै युरोप छिर्ने सपना देखाएर मोटो रकम असुल्ने र बिचल्लीमा पार्ने क्रम निकै बढेको छ ।
विभागले कडा चेतावनी दिँदै पक्राउ पुर्जी जारी भएका तर फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने बताएको छ ।
२८ हजारभन्दा बढी उजुरीको चाङ
विभागका अनुसार वैदेशिक रोजगार विभागमा अहिले ठगीसँग सम्बन्धित २८ हजारभन्दा बढी उजुरीको चाङ छ । वर्षौँ अघिदेखिका उजुरीहरू पनि छन् र छिनोफानोका आधारमा दैनिक रूपमा सङ्ख्या थपघट भइरहन्छ ।
विदेश जानुअघि उक्त संस्था वा व्यक्तिले नेपाल सरकारबाट इजाजत लिएको छ कि छैन, मागपत्र आधिकारिक हो कि होइन भन्ने कुरा विभागको वेबसाइट वा एपबाट यकिन गरेर मात्रै प्रक्रिया अघि बढाउन विभागले भनेको छ ।
रोजगारीका लागि विदेश जाने र जान चाहनेहरूको सङ्ख्या बढेसँगै ठगीका घटना पनि ग्राफकै रूपमा उकालो लागेको अधिकारीहरू स्वीकार गर्छन् । पक्राउ गर्न पुर्जी जारी भएका व्यक्तिहरूको यकिन सङ्ख्या निकाल्न विभागले पुराना कागजातहरू केलाउने काम गरिरहेको छ ।
राज्य संयन्त्रले कारबाहीको दायरा फराकिलो बनाए पनि नागरिक आफैँ सचेत नभएसम्म यस्ता ठगी पूर्ण रूपमा रोक्न असम्भव जस्तै छ । वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई अपिल गर्दै भनेको छ । सामाजिक सञ्जालमा आउने आकर्षक विज्ञापन र रिलहरूको पछाडि नलाग्नुहोस् । बिना सीप र सस्तो मूल्यमा युरोप पठाउने दाबीहरू शतप्रतिशत ठगी हुन् ।
विदेश जानुअघि उक्त संस्था वा व्यक्तिले नेपाल सरकारबाट इजाजत लिएको छ कि छैन, मागपत्र आधिकारिक हो कि होइन भन्ने कुरा विभागको वेबसाइट वा एपबाट यकिन गरेर मात्रै प्रक्रिया अघि बढाउन विभागले भनेको छ ।

