काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘सुपरम्यासिभ ब्ल्याक होल’ फेला पारेका छन्।
‘म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्ट्रियल फिजिक्स’ (एमपीएई) को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको यो खोजले ब्रह्माण्डको सुरुआती चरणमा विशाल ब्ल्याक होलहरू कसरी बढे र एकापसमा अन्तरक्रिया गरे भन्ने दुर्लभ दृश्य प्रस्तुत गरेको छ।
यी ब्ल्याक होलहरू ‘जे०१४८-४२१४’ नाम दिइएको ग्यालेक्सीमा अवस्थित छन्। तीनवटै ब्ल्याक होलले आफ्ना वरपर रहेका ग्यास र अन्य सामग्रीको चक्रवात (डिस्क) बाट सक्रिय रूपमा पदार्थहरू आफूतिर खिचिरहेका छन्। उक्त ग्यालेक्सी धेरै टाढा भएकाले त्यसको प्रकाश पृथ्वीसम्म आइपुग्न करिब १२.५ अर्ब वर्ष लागेको छ।
यसको अर्थ खगोलशास्त्रीहरूले यसलाई ‘बिग ब्याङ’ (ब्रह्माण्डको उत्पत्ति) भएको मात्र १.२ अर्ब वर्षपछिको अवस्थामा देखिरहेका छन्। अनुसन्धानकर्ताहरूले जे०१४८-४२१४ का लागि ‘रेडसिफ्ट’ (जेड=५.०२) मापन गरेर यसको दूरी निर्धारण गरेका हुन्।
एमपिएइका अनुसन्धान समूह प्रमुख तथा अध्ययनकी प्रमुख लेखिका हन्ना उबलरका अनुसार टाढाको ब्रह्माण्डमा एउटै ग्यालेक्सीभित्र तीन वटा सक्रिय ब्ल्याक होल भेटिएको यो पहिलो प्रमाण हो। दुई वटा ब्ल्याक होल ग्यालेक्सीको केन्द्रनजिकै रहेका छन्, जुन ६२० प्रकाशवर्षको दूरीमा मात्र अलग छन्। तेस्रो ब्ल्याक होल भने केन्द्रबाट निकै टाढा अर्थात् करिब ५,५०० प्रकाशवर्षको दूरीमा रहेको छ।
खगोलशास्त्रीहरूका अनुसार ब्रह्माण्डको सुरुआती इतिहासमा ग्यालेक्सीहरूको ठक्कर र विलय सामान्य थियो। ग्यालेक्सीहरू गाभिँदा तिनीहरूका केन्द्रमा रहेका ब्ल्याक होलहरू पनि नजिक आउन सक्थे र अन्ततः विलय हुन्थे।
अनुसन्धानकर्ताहरूले हाइड्रोजन ग्यासबाट उत्सर्जन हुने प्रकाशका विशिष्ट ढाँचाहरूको परीक्षण गरेर यी तीन ब्ल्याक होल पहिचान गरेका हुन्। ब्ल्याक होल नजिकैको शक्तिशाली गुरुत्वाकर्षण बलका कारण ग्यासहरू तीव्र गतिमा बहन्छन्, जसले प्रकाशको स्पेक्ट्रममा चिन्न सकिने सङ्केतहरू छाड्छन्।
यसैका आधारमा वस्तुहरू आफैँ प्रत्यक्ष रूपमा नदेखिए पनि ब्ल्याक होलको सक्रियता पत्ता लगाउन सकिन्छ। जे०१४८-४२१४ को केन्द्रमा टोलीले हाइड्रोजन उत्सर्जनको एउटा जटिल ढाँचा फेला पारेको थियो, जसको उत्तम स्पष्टीकरण एउटा मात्र स्रोत नभई नजिकै रहेका दुई वटा ब्ल्याक होलको उपस्थिति थियो। तिनीहरूबीचको भिन्नता छुट्याउन वैज्ञानिकहरूले ‘स्पेक्ट्रो-एस्ट्रोमेट्री’ नामक सटीक मापन प्रविधि प्रयोग गरेका थिए।
यी तीन ब्ल्याक होलको आकार र द्रव्यमानमा ठुलो भिन्नता रहेको छ। अनुसन्धानकर्ताहरूको गणनाअनुसार तिनीहरूको द्रव्यमान सूर्यको तुलनामा क्रमशः ८ करोड, ६ लाख र २० लाख गुणा बढी रहेको छ। अचम्मको कुरा के छ भने, सबैभन्दा ठुलो ब्ल्याक होलले सबैभन्दा बढी पदार्थ निलिरहेको छैन।
सूर्यभन्दा ६ लाख गुणा ठुलो द्रव्यमान भएको त्यसको सानो छिमेकी ब्ल्याक होल धेरै उच्च दरमा पदार्थ सङ्कलन गरिरहेको छ। यसको अनुमानित फिडिङ दर ब्ल्याक होल वृद्धिका आधारभूत मोडलहरूले भविष्यवाणी गरेभन्दा पनि बढी छ।
अध्ययनका सह-लेखक डा. जियोभाने माजोलारीका अनुसार जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) को तथ्याङ्कले तीनवटै ब्ल्याक होलको पहिचान गर्न मात्र नभई तिनीहरूको द्रव्यमान, सङ्कलन दर र ग्यालेक्सीको तारा स्टेलर मासको अनुमान लगाउन पनि मद्दत गरेको छ।
ग्यालेक्सीको कुल तारा स्टेलर मास करिब १.३ अर्ब सूर्य बराबर रहेको छ, जसमा यी ब्ल्याक होलहरूले महत्त्वपूर्ण हिस्सा ओगटेका छन्।
ग्यालेक्सीको केन्द्रनजिक रहेका दुई ब्ल्याक होलहरू आगामी केही करोड वर्षभित्र आपसमा विलय हुने अपेक्षा गरिएको छ। तिनीहरूको सम्भावित ठक्करले अझ विशाल ब्ल्याक होल बनाउन मद्दत गर्नेछ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक तथा अध्ययनका सह-लेखक रोबर्टो माइओलिनोका अनुसार ब्ल्याक होलको विलय प्रारम्भिक ब्रह्माण्डमा तिनीहरूको तीव्र वृद्धिका लागि थप र छिटो माध्यम हुन सक्ने सङ्केत यसले गर्छ। ग्यालेक्सीको केन्द्रभन्दा धेरै बाहिर रहेको तेस्रो ब्ल्याक होल भने अघिल्लो विलयको अवशेष हुन सक्ने अनुमान छ, जुन शक्तिशाली गुरुत्वाकर्षणको धक्काका कारण बाहिर धकेलिएको हुन सक्छ।
अर्को सम्भावना के पनि छ भने, त्यो तेस्रो ब्ल्याक होल बिस्तारै ग्यालेक्सीको केन्द्रतिर सरिरहेको छ, जहाँ यसले अन्ततः अन्य दुईसँग अन्तर्क्रिया गर्न सक्छ।
यो खोजले टाढाका ग्यालेक्सीहरूमा रहेका ब्ल्याक होलहरूको अध्ययनका लागि जेम्स वेब स्पेस टेलिस्कोपको असाधारण क्षमतालाई उजागर गरेको छ। जेडब्ल्युएसटीको इन्टीग्रल फिल्ड स्पेक्ट्रोस्कोपी मोडमा रहेको नियरा इन्फ्रारेड स्पेक्ट्रोग्राफ प्रयोग गरेर अनुसन्धानकर्ताहरूले छुट्टाछुट्टै सङ्केतहरूलाई अलग गर्न सफल भएका हुन्, जुन नभएको भए एउटै मात्र ब्ल्याक होल रहेको मानिने थियो।
यस नतिजाले अन्य टाढाका ग्यालेक्सीहरूमा पनि धेरै वटा बढ्दै गरेका ब्ल्याक होलहरू लुकेर बसेको हुन सक्ने देखाएको छ।
