"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मृत हात्तीको बच्चा बोकेको तस्बिरलाई ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि

Table of Content

मृत हात्तीको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेको वयस्क पोथी हात्तीको भावुक तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेको छ । इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिचेको उक्त तस्बिरले वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गरेको छ ।

हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले नामिबियाको सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिह्न फेला पारेका थिए । ती चिह्न पछ्याउँदै जाँदा उनले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देखे । बच्चाको एउटा खुट्टा हात्तीको दाह्रा र सुँडको बीचमा अड्किएको थियो ।

सुरुमा उनले उक्त हात्तीलाई मृत बच्चाकी आमा ठानेका थिए । तर, त्यस क्षेत्रका हात्तीमाथि अनुसन्धान गरिरहेको समूहसँग तस्बिर साझा गरेपछि भने फरक वास्तविकता पत्ता लाग्यो । अनुसन्धानकर्ताहरूले उक्त हात्ती केही वर्षअघि आफ्नो बच्चा गुमाइसकेको पोथी भएको पहिचान गरेका थिए । यसअघि पनि उसले अरू पोथीका मृत बच्चाहरू उठाएको पाइएको थियो ।

वन्यजन्तुको तस्बिर खिच्न थालेको २० वर्षको अनुभवमा यो सबैभन्दा हृदयविदारक, रोचक र नाटकीय क्षण भएको भेरोनेसीले बताएका छन् । यस घटनाले जनावरमा हुने भावना र संवेदनाको गहिराइ तथा जटिलता बुझ्न सहयोग गर्ने उनको भनाइ छ ।

उनले आफ्नो तस्बिरले मानिसहरूलाई जनावरको बाहिरी रूपभन्दा पर हेर्न र तिनलाई आफ्नै सम्बन्ध, स्मृति तथा भावना भएका जीवका रूपमा बुझ्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।

बालकदेखि अनुभवी फोटोग्राफरसम्म पुरस्कृत

यस वर्षको प्रतियोगितामा हात्ती, कीरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पतिसहित प्रकृतिका विविध पक्ष समेटिएका तस्बिर पुरस्कृत भएका छन् ।

जिम्बाब्वे र बेलायतसँग सम्बन्धित युवा फोटोग्राफर ओस्कार ह्विटफिल्डले गोबरको डल्लो गुडाउँदै गरेको गोब्रे कीराको तस्बिरका लागि ११ देखि १४ वर्ष उमेर समूहको युवा विधामा पुरस्कार जितेका छन् । जिम्बाब्वेको जाम्बेजी राष्ट्रिय निकुञ्जमा खिचिएको तस्बिरमा कीराले आफ्नो शरीरभन्दा निकै ठूलो गोबरको डल्लो बालुवामा गुडाउँदै गरेको देखिन्छ ।

2

बेलायतकी एमिली डेभिसले भने आफ्नो बगैँचामा बुबाको स्मार्टफोन प्रयोग गरेर खिचेको भमराको तस्बिरका लागि १० वर्ष वा सोभन्दा कम उमेर समूहमा पुरस्कार जितेकी छन् । ‘फ्लाइट अफ द बम्बलबी’ नाम दिइएको तस्बिरमा फूलमा बस्न लागेको भमराको पखेटाको एक क्षणलाई कैद गरिएको छ ।

बेलायतकै जेम्स लेविनले केन्याको च्युलु हिल्स राष्ट्रिय निकुञ्जमा पानीको मुहानमा जेब्रातर्फ पानी छ्याप्दै गरेको जवान भाले हात्तीको तस्बिर खिचेका छन् । इन्फ्रारेड प्रविधिमा रूपान्तरण गरिएको क्यामेरा प्रयोग गरेर खिचिएको उक्त श्यामश्वेत तस्बिर ‘एनिमल्स इन देयर इन्भाइरोन्मेन्ट’ विधामा पुरस्कृत भएको छ ।

4

जलवायु परिवर्तनले वन्यजन्तुको व्यवहारमा प्रभाव

प्रतियोगितामा पुरस्कृत केही तस्बिरले जलवायु परिवर्तन र मानव गतिविधिका कारण वन्यजन्तु तथा तिनको बासस्थानमा देखिएका परिवर्तन पनि उजागर गरेका छन् ।

बेलायतका आरोन स्यान्डर्सले कर्नवालको पोर्थकेरिस समुद्री तटमा खिचेको अक्टोपसको तस्बिर ‘एनिमल पोट्र्रेट्स’ विधामा पुरस्कृत भएको छ । सामान्यतः न्यानो भूमध्यसागरीय क्षेत्रमा पाइने साधारण अक्टोपस पछिल्लो समय दक्षिणपश्चिमी बेलायतमा पनि बढी देखिन थालेका छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण वसन्त ऋतुमा समुद्रको पानी न्यानो बन्दै जाँदा यसको उपस्थितिमा वृद्धि भएको विवरणमा उल्लेख छ ।

दक्षिण अफ्रिकाका इसाक प्रिटोरियसले युगान्डाको माबाम्बा दलदलमा दुईवटा सुबिल चराले गुँड बनाउन घाँस र पात बोकेको तस्बिर खिचेका छन् । जंगलमा वयस्क सुबिलको संख्या पाँच हजार तीन सयभन्दा कम रहेको अनुमान छ । पेलिकन, बकुल्ला र आइबिस चरासँग नजिकको सम्बन्ध भएको यो दुर्लभ चरा संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

6

त्यस्तै, थाइल्यान्डको बैंककस्थित लुम्फिनी पार्कमा खिचिएको पानीगोहोरोको तस्बिरले सहरभित्र वन्यजन्तुको अनुकूलन क्षमता देखाएको छ । बेलायती फोटोग्राफर सेथ फरेस्टसनले सहरका अग्ला भवनको पृष्ठभूमिमा माछा समातेको पानीगोहोरोको तस्बिर खिचेका हुन् । दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभिन्न सहरमा पाइने यस्ता गोहोरोले उपलब्ध खाद्यस्रोतअनुसार आफ्नो आहार अनुकूल बनाउने गरेका छन् ।

मानव गतिविधिले वन्यजन्तुको बासस्थानमा असर

प्रतियोगिताका अन्य तस्बिरले मानिसका गतिविधि, सहरीकरण र औद्योगिक विकासले प्रकृतिमा पारिरहेको प्रभावलाई पनि प्रस्तुत गरेका छन् ।

कोलम्बियाका एलेक्स भिस्बालले अमेरिकाको उटाहस्थित ग्रेट साल्ट लेकको तस्बिर खिचेका छन् । ‘द ग्रेट डिभाइड’ नाम दिइएको उक्त तस्बिरले जलस्रोतमा बनाइएको एउटा कृत्रिम रेखाले कसरी सिमसारको स्वरूप परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ । तस्बिरमा तालको एक भाग गुलाबी र अर्को भाग फिक्का नीलो देखिन्छ । गुलाबी रङ अत्यधिक नुनिलो पानीमा फस्टाउने सूक्ष्मजीवका कारण बनेको हो । उक्त क्षेत्रमा ताजा पानीको आपूर्ति अवरुद्ध भएपछि पानीको अवस्था परिवर्तन भएको विवरणमा उल्लेख छ ।

17

चिलीका फोटोग्राफर फ्रान्सिस्को नेग्रोनिले अर्जेन्टिनाको पाटागोनियास्थित सान्ता क्रुज प्रान्तमा तारको बारमा झुन्ड्याइएको मृत पुमाको तस्बिर खिचेका छन् । ‘वार्निङ साइन’ नाम दिइएको उक्त तस्बिर ‘फोटो पत्रकारिता’ विधामा पुरस्कृत भएको हो । सान्ता क्रुजमा सन् २०२५ मा पुमाको सिकार प्रतिबन्धित गरिए पनि अवैध रूपमा तिनको हत्या गर्ने क्रम जारी रहेको विवरणमा उल्लेख छ ।

अमेरिकाका लोरेन इलियटले सान फ्रान्सिस्कोमा बस्ने कोयोटको जीवनमाथि तयार पारेको तस्बिर–कथाले फोटो पत्रकारिता विधामा विशेष पुरस्कार पाएको छ । सहरमा करिब एक सय कोयोट रहेको अनुमान छ । तिनले घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने भए पनि रोग फैलाउने मुसाको संख्या नियन्त्रण गर्न पनि सहयोग गर्छन् । त्यसैले सहरवासीमा तिनलाई लिएर फरक–फरक धारणा रहेको छ ।

साना जीवको संसारदेखि समुद्रको गहिराइसम्म

प्रतियोगिताले सामान्यतः मानिसको नजरमा नपर्ने साना जीवहरूको संसारलाई पनि प्राथमिकता दिएको छ । जर्मनीका एलेक्सिस टिंकर–त्साभालासले एउटा झिँगाले अर्को झिँगालाई खाइरहेको सूक्ष्म दृश्य खिचेका छन् । ‘हिडन डेप्थ्स’ नाम दिइएको उक्त तस्बिरले म्याक्रो फोटोग्राफीमार्फत साना जीवको शरीर र व्यवहारका सूक्ष्म विवरण देखाउँछ । कोभिड–१९ महामारीका बेला घरनजिकका प्राकृतिक क्षेत्रमा सीमित रहनुपरेपछि आफूमा यस्तो फोटोग्राफीप्रति रुचि बढेको उनले बताएका छन् ।

15

अमेरिका र जापानसँग सम्बन्धित फोटोग्राफर टोनी वुले जापानको क्युशुस्थित कागोशिमा क्षेत्रमा एबट्स मोरे इलको प्रजननसम्बन्धी व्यवहारको तस्बिर खिचेका छन् । प्राकृतिक अवस्थामा यस्तो व्यवहारको तस्बिर खिचिएको सम्भवतः यो पहिलो घटना भएको बेलायतको प्राकृतिक इतिहास संग्रहालयले जनाएको छ । जीवविज्ञहरूसँग सहकार्य गरेका वुले समुद्री जीवलाई कमभन्दा कम असर पर्ने गरी मधुरो रातो प्रकाश र विशेष लेन्स प्रयोग गरेका थिए ।

ग्रीसका अगोरास्तोस पापात्सानिसले अल्ट्राभायोलेट प्रकाश प्रयोग गरेर कुहिएको काठमा उम्रिएका च्याउको तस्बिर खिचेका छन् । त्यस्तै, भारतका सीताराम राउलले राजस्थानको थार मरुभूमिमा तातो बालुवाबाट बच्न बालुवाभित्र पस्दै गरेको बिच्छीको तस्बिर खिचेका छन् । बिहान तापक्रम बढेपछि बिच्छी बालुवाभित्र लुक्न खोजेको दृश्य उनले कैद गरेका हुन् ।

इन्डोनेसियाको पपुवा क्षेत्रमा समुद्रमा माछा मार्न प्रयोग गरिने प्रकाशयुक्त जालमञ्चमुनि पौडिरहेको ह्वेल सार्कको तस्बिर पनि पुरस्कृत भएको छ । अमेरिकी फोटोग्राफर एलेक्स लिन्डब्लुमले बिहानको उज्यालो पर्याप्त नहुँदा माछा मार्ने मञ्चमा प्रयोग गरिएको बत्तीको सहायताले ड्रोनबाट उक्त तस्बिर खिचेका थिए ।

यस वर्षका पुरस्कृत तस्बिरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा शुक्रबार, अक्टोबर १६ देखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा समेटिएका दृश्यले वन्यजन्तुको जीवनका भावनात्मक र अनौठा क्षण मात्र होइन, जलवायु परिवर्तन, बासस्थान विनाश र मानव गतिविधिबाट प्रकृतिमा परिरहेका असरसमेत उजागर गरेका छन् । प्रकृतिका यस्ता क्षणलाई तस्बिरमा कैद गर्नु वन्यजन्तुप्रतिको जनचेतना बढाउने र संरक्षणको आवश्यकता बुझाउने प्रभावकारी माध्यम बनेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०