काठमाण्डाै – म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ ।
पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक योजना प्रमुख तेजस्वी शर्माका अनुसार बगाएको पहुँचमार्गको विकल्पमा जगमा ग्यावियन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर हिजो बेलुकी सडक जोडिएको हो । सडकलाई पूर्ण रूपमा सञ्चालन योग्य बनाउन सतह मिलाउने लगायत बाँकी काम भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले बताउनुभयो ।
