काठमाण्डाै – सरकाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको दाबी गर्नुभयाे ।
सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ । उहाँको थप सुरक्षाका लागि परिवारले प्रहरी कार्यालयमा निवेदन पनि पठाएकाे छ । उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लगिएको हो ।’
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जमा रहेकाे घरबाट शनिवार राति पक्राउ गरेको थियो । पछि आइतवार दिउँसो उहाँलाई छोडिएको थियो ।
विसं २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा विसं २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नुभएको थियो ।
