चितवन — नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि चितवन क्षेत्र नं. १ बाट युवा नेता प्रज्वल दवाडीले खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका दवाडीसँग सङ्गठन निर्माण र भ्रातृ संस्था सञ्चालनको लामो अनुभव रहेको छ। उनी नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को जिल्ला सदस्य हुँदै काठमाडौँको शङ्करदेव क्याम्पसमा नेविसङ्घ सह-सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका नेता हुन्।
त्यसैगरी, नेपाल तरुण दलको क्षेत्रीय सभापतिको रूपमा युवाहरूलाई सङ्गठित गर्दै राजनीतिमा सक्रिय रहेका दवाडी बागमती प्रदेश प्रतिनिधि तथा बागमती प्रदेश समिति सदस्यका रूपमा समेत कार्य गरिसकेका छन्। उनीसँग बागमती प्रदेश अन्तर्गत भ्रातृ सङ्घ समन्वय विभाग प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरेको कुशल अनुभव पनि छ।
लामो समयदेखि पार्टी र भ्रातृ सङ्गठनका विभिन्न तहमा रहेर निष्ठापूर्वक काम गर्दै आएकाले यसपटक १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधिहरूको विश्वास जित्दै खुल्लातर्फबाट उम्मेदवारी दिएको दवाडीले बताएका छन्। पार्टीलाई थप सुदृढ, ऊर्जाशील र समावेशी बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
