चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बिहीवार साँझ करिब ७:४५ बजे भण्डाराबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ६६०१ नम्बरको तेल ट्यांकर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ३२–३३ वर्षीय शक्ति चौधरी र उनका भाइ अन्दाजी २८–२९ वर्षीय नसिब चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि स्थानीय तथा मृतकका आफन्तले सडक अवरुद्ध गरेका थिए।
