चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ‘सशक्तीकरणका लागि हाम्रो अभियान’ले आर्थिक सहयोग गरेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै अभियानले राहतस्वरूप रु. ५ हजार सहयोग गरेको जनाएको हो। अभियानले विपद्को कठिन परिस्थितिमा बाढीपीडित नागरिकप्रति सहानुभूति प्रकट गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी पहल गर्न आग्रह गरेको छ।
अभियानले विपद्को समयमा राज्यको प्रयास मात्र पर्याप्त नहुने भन्दै देश तथा विदेशमा रहेका नेपाली नागरिक, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी मन भएका सबैलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्न अपिल गरेको छ।
सहयोग गर्दा राहत रकमको पारदर्शिता, विश्वसनीयता र प्रभावकारी सदुपयोग सुनिश्चित गर्न नेपाल सरकारद्वारा तोकिएको आधिकारिक खातामार्फत मात्र सहयोग गर्न समेत अभियानले अनुरोध गरेको छ।
अभियानले बाढीपीडित नागरिकको पीडालाई आफ्नो पीडा सम्झेर सबैलाई एकताबद्ध भई सहयोग गर्न आग्रह गर्दै विपद्का बेला सहयोग रकमको आकारभन्दा पनि पीडितप्रतिको संवेदना, सद्भाव र ऐक्यबद्धता महत्वपूर्ण हुने जनाएको छ।
“विपद्मा परेकालाई साथ दिऔँ, मानवीय सेवामा हातेमालो गरौँ” भन्ने सन्देशसहित अभियानले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

