"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रहरीले ‘तैंले हामीलाई संविधान पढाउने ?’ भन्दै घेरेर कुटे

Table of Content

१२–१५ जनाले मिलेर मलाई कुटपिट गरे। अनुहार र आँखामा मुक्का प्रहार भयो, बुटले शरीरका विभिन्न भागमा हानियो । अत्यधिक कुटाइका कारण केही समयका लागि होश हराएजस्तो भयो र पीडासमेत महसूस हुन छोड्यो ।

माजिद अन्सारी

म नेपाल ल क्याम्पसमा बीए एलएलबीको दशौं सेमेस्टरको विद्यार्थी हुँ । शनिबार, २७ गते, म मोनिका निरौला, सरिस्मा थापा र रियाब बानियाँसँग मिलेर सुकुम्बासीहरूको अवस्था बुझ्न कीर्तिपुरस्थित सत्संग होल्डिङ सेन्टर गएको थिएँ । शुक्रबार राति नै होल्डिङ सेन्टरमा बाढी पसेर सबैलाई उठिबास लगाएको खबर तत्कालै सञ्चार माध्यमहरूमा तारन्तार आइरहेको थियो। हामी साँझ करीब साढे चार बजे त्यहाँ पुगेका थियौं । 

हामीलाई निकै आग्रह गर्दा समेत होल्डिङ सेन्टरभित्र प्रवेश गर्न दिइएन । एकैछिनमा सरिस्मा थापाले ओजस्वी थापालाई देख्नुभयो । ओजस्वीले प्रहरीहरूलाई निर्देशन दिने काम गरिरहेका थिए । लगत्तै ओजस्वी थापा कुन हैसियतमा भित्र गएका हुन्, उनको कानूनी हैसियत के हो, प्रहरीले उनको निर्देशन किन पालना गरिरहेको छ र उनी भित्र जान पाउने तर हामी किन नपाउने भन्ने प्रश्न सरिस्माले गर्नुभयो । यसको जवाफमा प्रहरीले यति जानकारी चाहिएको हो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारीसमक्ष निवेदन दिएर जानकारी लिनुस् भन्ने जवाफ दियो ।

त्यसपछि मैले प्रहरीसँग भनें कि यति सानो विषयका लागि औपचारिक प्रक्रिया अपनाइरहनुपर्ने आवश्यकता छैन । यदि उनले आफ्नो वैध र आधिकारिक परिचयपत्र देखाए, त्यो नै पर्याप्त हुन्छ । मैले थप स्पष्ट पार्दै भनें कि औपचारिक सूचना माग्ने प्रक्रिया त तब अपनाइन्छ, जब सम्बन्धित व्यक्तिले आफ्नो आधिकारिक परिचय प्रस्तुत गरिसकेको हुन्छ । तर, उनीसँग कुनै परिचयपत्र वा आधिकारिक परिचय नै छैन भने हामीले किन औपचारिक प्रक्रिया अपनाउनुपर्ने ?

मैले यति भनेपछि प्रहरीहरू असन्तुष्ट र आक्रोशित भएको महसूस भयो। त्यसपछि ओजस्वी थापाको कानूनी हैसियतबारे विवादलाई थप नबढाउने निर्णय गर्दै हामी होल्डिङ सेन्टरको गेटबाट बाहिरिएर फुटपाथतर्फ गयौं । त्यहाँ सुकुम्बासीहरूको सामान सार्ने काम भइरहेको थियो । हामी केही बेर त्यहीं बसेर अवस्था अवलोकन गरिरहेका थियौं र आवश्यक पर्दा सामान सार्न पनि सहयोग गरिरहेका थियौं ।

त्यहाँ दुईवटा बस र एउटा सामान बोक्ने सानो ट्रक तयारी अवस्थामा थिए । एउटा बस निस्किसकेको थियो भने अर्को बस अझै त्यहीं थियो । त्यही बेला बसका चालकले प्रहरीसँग ‘हामी बोडे जाने हो कि खरिपाटी ?’ भनेर पटक–पटक सोधिरहेका थिए । प्रहरीहरूबीच पनि गन्तव्यबारे स्पष्टता थिएन । कतिपयले बोडे भन्ने गरेका थिए भने कतिपयले खरिपाटी ।

यस्तो अन्योलले सुकुम्बासीहरू झन् आत्तिएका थिए । आफ्ना बालबालिका र सामान कहाँ लगिएको हो भन्ने उनीहरूलाई कुनै जानकारी थिएन । हामीले प्रहरीलाई एउटा बस गइसकेको, अर्को बस पनि जान लागेको र मानिसहरू गन्तव्यबारे अन्योलमा परेकाले कम्तीमा सही जानकारी दिन आग्रह गर्‍यौं । तर, हाम्रो चिन्तालाई बेवास्ता गर्दै प्रहरीले भन्यो, “तिमीहरू यहाँ राजनीति गर्न नआऊ, पढ्न जाऊ ।” त्यसको जवाफमा हामीले भन्यौं, “हामी राजनीति गर्न आएका होइनौं, यहाँ रहेका मानिसहरूको वास्तविक समस्याबारे मात्रै कुरा गरिरहेका छौं ।”

त्यसपछि म र सरिस्मा थापा अर्को बसमा चढ्यौं । त्यहाँ रहेका बालबालिकालाई नआत्तिन, पढाइ नछोड्न र आफ्नो अधिकारका लागि शान्तिपूर्ण रूपमा लड्न आग्रह गरिरहेका थियौं । त्यही बेला मास्क लगाएका एकजना प्रहरी आएर भने, “तिमीहरू आफैं पढेकाजस्ता देखिंदैनौ, अरूलाई किन पढ्न सिकाइरहेका छौ? तिमीहरू नै गएर पढ ।” मैले भनें, “हामी पढेका मानिस हौं ।”

मलाई कुटपिट हुनुभन्दा करीब पाँच मिनेटअघि ओजस्वी थापाले मलाई छुट्टै बोलाए । आन्दोलनका क्रममा उनीसँग मेरो चिनजान भएको थियो । उनले सोधे, “तपाईंलाई ममाथि भरोसा छ नि?” मैले सुकुम्बासीहरूको अवस्था अझै अन्योलपूर्ण रहेको, उनीहरूको उचित व्यवस्थापन समयमै गरिदिन र उनीहरूसँग मानवीय व्यवहार गर्न भनें । त्यसपछि उनी केही पर रहेका प्रहरीकहाँ गएर कानमा केही कुरा गरे । 

त्यसको करीब चार–पाँच मिनेटपछि प्रहरीले एक्कासि हामीलाई चारैतिरबाट घेरा हालेर नियन्त्रणमा लिन थाल्यो । यही घटनापछि सम्पूर्ण विवाद र घटनाक्रम शुरू भएको हो ।

त्यस क्रममा सरिस्मा थापामाथि प्रहरीले दुर्व्यवहार गरिरहेको देखेपछि म उहाँलाई जोगाउनतर्फ गएको थिएँ । मैले बोलेर मात्रै प्रतिवाद गरिरहेको थिएँ  । र, मेरो एउटा हात पकेटमै रहेको भिडिओमा पनि देख्न सकिन्छ ।

अचानक पछाडिबाट एकजना प्रहरीले मलाई धक्का दिए । त्यसअघि पछाडिबाट प्रहरीले गरिरहेको केही इशाराको अर्थ बुझ्न सकेको थिइनँ । त्यस बेलासम्म हामीलाई चारैतिरबाट प्रहरीले घेरिसकेको थियो । मैले कुनै किसिमको अवरोध वा प्रतिरोध गरेको थिइनँ ।

पछाडिबाट प्रहरीले हानेजस्तो गरेपछि म फर्किएर सोधें, “को हो यसरी गर्ने?” त्यही बेला सरिस्माले मलाई च्याप्प समात्नुभयो । प्रहरीहरूले कुट्न थालेकाले सरिस्माले मलाई अँगालो हालेर जोगाउन खोज्नुभयो । त्यसपछि एकैचोटि चारैतिरबाट धेरै जना प्रहरी ममाथि खनिए । भिडिओ हेर्दा पनि थाहा हुन्छ— मास्क लगाएको प्रहरीले पछाडिबाट बुट र हातले हान्न खोजेको देखिन्छ । शुरूमा उनीहरूले मलाई चारैतिरबाट घेरेर नियन्त्रणमा लिन खोजे। त्यसपछि चार–पाँचजनाले मेरो कपाल तान्न थाले । मेरो केही कपाल उखेलिएको छ । अहिले पनि कपाल तानेको ठाउँमा छोयो भने करेन्ट लागेजस्तो दुख्छ ।

केही प्रहरीले पछाडिबाट र केहीले अगाडिबाट कपाल समातेर ताने । १२–१५ जनाले मिलेर मलाई कुटपिट गरे । अनुहार र आँखामा मुक्का प्रहार भयो, बुटले शरीरका विभिन्न भागमा हानियो । अत्यधिक कुटाइका कारण केही समयका लागि होश हराएजस्तो भयो र पीडासमेत महसूस हुन छोड्यो । दुवै आँखामा चोट लाग्यो र त्यसको असर फोटोमा समेत देखिन्छ । हामीलाई भ्यानमा साँझ करीब पौने ६ तिर राखियो होला । 

त्यसपछि कपाल समातेर मलाई जबरजस्ती गाडीमा हाल्न खोजियो । मैले पक्राउ पुर्जी माग्दा प्रहरीले कुटपिट गर्दै ‘पुलिस स्टेशनमा गएर कानून सिकाउँछु’ र ‘संविधान पढाउँछु’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिए ।

कीर्तिपुर प्रहरी वृत्तमा पुगेपछि पनि थप्पड र मुक्का प्रहार गरिएको थियो । र, कानून तथा संविधानबारे प्रश्न गरेको भन्दै अपमानजनक व्यवहार गरिने क्रम जारी थियो । फोन गर्न खोज्दा एकजना प्रहरीले ‘जति धेरै ठाउँमा फोन जान्छ, त्यति नै मुद्दा बढ्छ’ भन्दै धम्की दिइयो । त्यसपछि मेरो मोबाइल खोसेर भित्र लैजान आदेश दिइयो ।

मोबाइल दिन अस्वीकार गर्दै ‘खानतलासी र बरामदी मुचुल्का तयार गर्नुस्, त्यसपछि म मोबाइल दिन्छु’ भनें । त्यसपछि मलाई मुक्का हान्न लागेजस्तो गरेपछि साथी मोनिका निरौलाले बीचमा छेक्नुभयो । मोनिकाले घटनाको भिडिओ रेकर्ड गर्न खोज्नुभयो । तर, उहाँको मोबाइल तानियो र खोसियो । त्यसपछि प्रहरीहरूले ‘केटाहरू, यिनीहरूलाई लग’ भनेर हामीलाई लैजान खोजे । म, सरिस्मा थापा र नेल्सनलाई त्यहाँ राखियो । 

मैले फेरि पनि भनें, “मलाई पक्राउ पुर्जी नदिएसम्म म भित्र जान्नँ । तपाईंहरूले पक्राउ पुर्जीबिना मलाई राख्न पाउनुहुँदैन ।” त्यसपछि प्रहरीले “केटाहरू, यिनीहरूलाई हान्” भनेर आदेश दियो। मैले भनें, “पहिला मलाई पक्राउ पुर्जी दिनुस्, त्यसपछि जति कुट्ने मन छ, कुटनुस् ।” चक्कर लागेर ढल्छुजस्तो लागिरहेको थियो । मेरो नाक र अन्य ठाउँबाट रगत आइरहेको कुरा सरिस्माले बताइन् । म रगतले लथपथ भएको थिएँ  । आँखातिर पनि चोट लागेको थियो। त्यसपछि प्रहरीले ‘हस्पिटल लैजाऊ’ भन्यो ।

मलाई करीब आधा घण्टा जति त्यहीं राखेर धम्काइयो । त्यहाँ पनि ‘खूब कानून जान्छस् हैन ? आज कानून चलाउनेको फेलामा परिस्’ भनिरहे। त्यसपछि प्रहरी वृत्तबाट मलाई कीर्तिपुर अस्पताल लगियो । मेरो विवरण, उमेर, ठेगाना आदि लेखियो ।

अस्पतालमा पनि मलाई दुर्व्यवहार भयो । रिंगटा चलिरहेकाले सानो स्टुलमा बस्न खोजें । तर, त्यहाँको मेडिकल अफिसरले ‘उठ्नुस्, बस्न पाइँदैन’ भन्दै उठाए र ‘पुलिस केसमा आएको मान्छे बस्न मिल्दैन’ भने । ममाथि आक्रमण भएकाले मेडिकल हिस्ट्रीमा लेखिदिन आग्रह गरें । तर, उनले ‘यो लेख्न मिल्दैन’ भने । मैले फेरि पनि भनें, “प्रहरीले मलाई कुटेको हो, कृपया मेडिकल हिस्ट्रीमा लेखिदिनुस् ।” तर उनले फेरि पनि त्यो लेख्न नमिल्ने बताए ।

टाउको धेरै दुखिरहेको र टाउकोमा गम्भीर चोट लागेको जस्तो लागेकोले एक्स–रे गरिदिन अनुरोध गरें । मैले आफूले नै खर्च तिर्छु भन्दा पनि अस्पतालले प्रहरीको अनुमतिबिना एक्स–रे गर्न नमिल्ने बताइयो । त्यसपछि मैले प्रहरीलाई धेरै अनुरोध गर्दै भनें कि मलाई एकदम रिंगटा चलिरहेको छ र एक्स–रे गर्न आवश्यक छ । अन्ततः प्रहरीले अनुमति दियो र मलाई शुल्क तिरेर एक्स–रे गर्न भनियो । मैले आफ्नै पैसाले एक्स–रे गराएँ । एक्स–रे गरिसकेपछि पनि मलाई टाउको निकै दुखिरहेको थियो र म बेहोश हुन्छु जस्तो महसूस भइरहेको थियो ।

त्यसपछि अस्पतालका कर्मचारीले मलाई बेडमा बस्न लगाए । केही बेरपछि उनहरू मेरो टाउकोको उपचार त्यहाँ सम्भव नभएको, सिटी स्क्यान गर्नुपर्ने र त्यो सुविधा अस्पतालमा नभएकाले अर्को अस्पताल जानुपर्ने बताए । मैले प्रहरीलाई के गर्ने भनेर सोधें । तर, उनीहरूले कुनै प्रतिक्रिया दिएनन् । पछि प्रहरीले मलाई भने, ‘तपाईं जहाँ जान चाहनुहुन्छ, जानुस् । तपाईं अब छुट्नुभयो । रिफर लिएर अर्को अस्पताल जानुस् ।”

मैले प्रहरीलाई भनें कि उहाँहरूले नै मलाई पक्राउ गरेर ल्याउनुभएको हो । त्यसैले उहाँहरूको सुरक्षाबिना म कतै जान सक्दिनँ । बाटोमा मलाई केही भयो भने त्यसको जिम्मेवार को हुन्छ ? मेरो चिन्ता थियो । त्यसपछि मैले आफ्ना साथीहरूलाई फोन गर्न लगाएँ । अधिवक्ता ओजस्वी भट्टराईलगायत केही साथी अस्पताल आइसकेका थिए । उहाँहरूले प्रहरीसँग भन्नुभयो, “तपाईंहरूले पक्राउ गरेर ल्याएको व्यक्तिलाई यसरी बीचमै छोड्न मिल्दैन । कम्तीमा रिफर गरिएको अस्पतालसम्म पुर्‍याउनुपर्छ ।” ओजस्वी भट्टराई मलाई कुटपिट भएको थाहा पाएपछि सहयोग गर्न अस्पताल आउनुभएको थियो । हामी सुकुम्बासीसम्बन्धी सर्वोच्चमा हालेको रीट निवेदनमा सह–निवेदक पनि हौं । 

केही बेर छलफल भएपछि प्रहरीले मलाई एम्बुलेन्समार्फत अर्को अस्पताल लैजाने सहमति जनायो । साथीहरूको सल्लाहमा मलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइयो । एम्बुलेन्समा मेरा साथीहरू सविना ढकाल, प्रभात लाभ र अधिवक्ता आकाश महतो हुनुहुन्थ्यो । कीर्तिपुर अस्पतालमा भेटेको एकजना प्रहरी गेटसम्म आए । तर, उनी पनि त्यहींबाट फर्किए। त्यसपछि प्रहरी सम्पर्कविहीन भए । त्यसपछि मलाई अस्पतालमा भर्ना गरियो । अस्पतालमा सिटी स्क्यानलगायत चेकअपमा चिकित्सकहरू थिए । मेरो टाउको, मुखभरि चोट, नाक मुख र दाँतमा रगत थियो, कन्चटमा चोट असाध्यै थियो । भर्ना भएपछि रातिसम्म पनि प्रहरीको कोही आएनन् । अस्पतालमा भर्ना भएदेखि उपचारसम्मको सबै खर्च साथीहरूको सहयोगमा मैले आफ्नै पैसाले बेहोरें । शुरूमा ग्रीन इमर्जेन्सी वार्डमा करीब तीन घण्टा राखियो । त्यसपछि मलाई क्याबिन नं. ४०९ मा करीब ११ बजे सारियो ।

मैले पछि थाहा पाएँ कि अरू पक्राउ परेकामध्ये केहीलाई यसअघि नै छोडिसकिएको रहेछ । मेरो हकमा भने मलाई कुटपिट गरी अस्पताल पुर्‍याइयो, एउटा अस्पतालबाट अर्को अस्पतालमा सारियो । तर, त्यस अवधिमा पनि मेरो जिम्मेवारी कसैले स्पष्ट रूपमा लिएन । मलाई लाग्थ्यो कि प्रहरीले पक्राउ गरेर ल्याइसकेपछि कम्तीमा मेरो सुरक्षा र उपचारको जिम्मेवारी लिनुपर्थ्यो। शनिबार अस्पतालमा छोडेर गएपछि प्रहरीको उपस्थिति थिएन । आइतबार दिउँसो अन्दाजी १ बजे प्रहरी पुनः उपस्थित भयो ।

कीर्तिपुर अस्पतालमा मलाई ‘यसलाई थुन’ भनेर निर्देशन दिने त्यही प्रहरी अधिकृत अस्पताल आए । उनी आफूलाई असई भनेर चिनाउँथे । उनी आउनासाथ मैले सोधें, “मलाई तपाईंकै प्रहरीले कुट्दा तपाईंहरू किन हुनुहुन्थेन ? त्यति बेला मलाई किन जोगाउन आउनुभएन ?” मैले उनीसँग गुनासो राखें । त्यसपछि मैले उनलाई सीधै सोधें, “मेरो कानूनी हैसियत के हो ? म तपाईंहरूको बन्दी हुँ कि होइन ? म तपाईंहरूको नियन्त्रणमा छु कि छैन ?” उनले स्पष्ट रूपमा भने, “हो, तपाईं हाम्रो बन्दी हो । तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।” यो कुरा उनले आशिष केसरी, आबिद हुसेन, सविना ढकाल र निशा यादवलगायत उपस्थित व्यक्तिहरूको अगाडि भनेका थिए ।

त्यसपछि मैले उनलाई भनें, “यदि म तपाईंहरूको नियन्त्रणमा छु भने त्यसको कागज मलाई दिनुस् ।” उनले मलाई कागज दिन नमिल्ने बताए । मैले फेरि सोधें, “यदि मैले यहाँबाट निस्किनुपर्‍यो भने कसरी निस्किने ?” उनले भने, “हाम्रोमा आएर कागज गर्नुपर्छ ।” मैले त्यसको प्रतिवाद गर्दै भनें, “तपाईंहरूले मलाई विधिसम्मत रूपमा पक्राउ नै गर्नुभएको छैन भने मैले किन कागज गर्नुपर्ने ? कि त मलाई अदालतमा लैजानुस् किनभने तपाईंहरूले मलाई गैरकानूनी रूपमा नियन्त्रणमा राख्नुभएको छ, होइन भने मलाई राष्ट्रिय मानव अधिकार आयोगको जिम्मामा बुझाइदिनुस् । मेरो अधिकारको रक्षा कसैले नगरे पनि मानव अधिकार आयोगले गर्छ भन्ने विश्वास छ ।” मैले उनीहरूलाई आफ्ना कार्यालय प्रमुखलाई पनि यही कुरा जानकारी गराइदिन आग्रह गरें ।

मेरो बुझाइमा मलाई कानूनी अधिकारको कुरा उठाएकै कारण लक्षित गरेर कुटिएको थियो । आइतबार साँझ ६ बजेर २० मिनेट आसपास सादा पोशाकमा दुईजना प्रहरी अस्पतालमा आए। उनीहरूले रातभरि मेरो क्याबिनको ढोकाबाहिर बसेर मेरो निगरानी गरिरहे ।

सोमबार बिहान करीब ६ बजेतिर म सुतिरहेको अवस्थामा उनीहरू फेरि आए र म उपचाररत क्याबिन नं. ४०९ भित्र प्रवेश गरे । मलाई जबरजस्ती उठाए । मलाई कुर्न खटेका साथीहरूले प्रतिवाद गर्दा पनि मानेनन् । त्यसपछि उनीहरूले मैले कुन औषधि खाइरहेको, को–को भेट्न आइरहेको, मेरो स्वास्थ्य अवस्था कस्तो छ लगायतका विषयमा विभिन्न प्रश्न गर्दै केरकार गर्न थाले ।

त्यस क्रममा उनीहरूले मलाई पक्राउ गर्न प्रहरी भ्यान आउँदै छ भन्नेसम्मका कुरा गरे । त्यसपछि मैले तत्काल आफ्नो कानून व्यवसायीलाई बोलाएँ । तर, मेरो क्याबिनभित्र आएका ती प्रहरीले मेरो कानून व्यवसायीसँग पनि दुर्व्यवहार गरे ।

मलाई मेरो कानून व्यवसायीसँग स्वतन्त्र र गोप्य रूपमा कानूनी सल्लाह गर्नसमेत दिइएन । आफ्नै निगरानीमा भए मात्र कानून व्यवसायीसँग कुराकानी गर्न दिने प्रहरीले भने । त्यसैले म वास्तवमै प्रहरीको नियन्त्रणमा थिएँ कि थिइनँ भन्ने विषयमा अन्योलको अवस्था सिर्जना भयो । कानून व्यवसायी र सेवाग्राहीबीचको गोप्य छलफलमा हस्तक्षेप गर्न नमिल्ने बताएपछि पनि प्रहरीले ‘माथिबाट आदेश छ’ भन्दै बाहिर जान मानेनन् । डाक्टरको हस्तक्षेपपछि मात्र कानून व्यवसायीलाई मसँग भेट्न दिइयो ।

अस्पतालका चिकित्सक र प्रशासनले पनि प्रहरीलाई बिरामीको उपचार प्रक्रियामा हस्तक्षेप नगर्न र वार्डबाट बाहिर जान आग्रह गरेका थिए । अस्पताल प्रशासनले भनेपछि उनीहरू क्याबिनबाट बाहिर गए र पछि अस्पतालको गेटमा बसेर निगरानी गर्न थाले ।

उनीहरूले यसलाई मेरो सुरक्षाका लागि गरिएको बताए । तर, मलाई यो कुरा विरोधाभासपूर्ण लाग्यो किनभने मलाई पहिलो पटक अस्पतालमा छोडेर जाँदा मेरो सुरक्षाप्रति कुनै चासो देखाइएको थिएन । त्यसपछिको दिनभरि पनि प्रहरी अस्पतालमा उपस्थित थिएन । तर, जब मलाई पक्राउ गर्ने विषय उठ्यो, त्यसपछि भने बिहानैदेखि सुरक्षाको नाममा निरन्तर निगरानी गर्न थालियो ।

अस्पतालमा मेरो उपचार भइरहेको अवस्थामा प्रहरीको यस्तो निरन्तर उपस्थितिले मलाई थप मानसिक तनाव भयो । शुरूमा प्रहरीले मलाई अस्पतालमा छोडेर गएको थियो । त्यसपछि राति फेरि प्रहरी आएर बाहिर बसे । बिहान आएर मलाई ‘तपाईं हाम्रो बन्दी हो’ भन्ने किसिमको व्यवहार गरियो । प्रहरीको वास्तविक उद्देश्य स्पष्ट थिएन । यो अन्योलपूर्ण अवस्थाले मेरो शारीरिक पीडासँगै मानसिक तनाव पनि थप बढायो ।

मलाई अवाञ्छित व्यवहार (अभद्र व्यवहार) सम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको जानकारी आयो । मैले बुझेअनुसार यस्तो मुद्दा लगाएपछि अदालतमा नलगी प्रमुख जिल्ला अधिकारीसमक्ष मात्रै उपस्थित गराए पुग्ने अवस्था हुन्थ्यो । मेरो विचारमा मलाई चूप लगाउने माध्यमका रूपमा यो मुद्दा प्रयोग गर्न खोजिएको छ । सरकारको आलोचना नगर्न र सार्वजनिक रूपमा नबोल्न दबाब दिने उद्देश्य देखिन्छ । पक्राउ गर्ने क्रममा प्रहरीहरूले पनि मलाई भनेका थिए, “तिमीहरूले राजनीति गर्न पाउँदैनौ । तिमी पढ्न जाऊ । तिम्रा बुबाआमाले यसैका लागि पठाएका हुन् ।”

यस घटनाबारे जानकारी पाएपछि म ठूलो मानसिक तनावमा परें । म आफैंले जस्तोसुकै अवस्था सामना गर्न सक्थें । तर, मोरङमा बस्ने मेरो परिवारका लागि यो अवस्था निकै कठिन थियो। परिवारमा पढेको व्यक्ति म मात्र भएकाले उनीहरूमाथि पर्ने असरले मलाई झन् चिन्तित बनायो । मेरो निःसर्त रिहाइका लागि मोरङमा केही साथीले शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा रातभरि थुनामा राखिएको र अबदेखि यस्तो हर्कत नगर्न भनी लिखित प्रतिबद्धता गराएर छोडिएको समाचारले झन् दुखी बनाएको थियो ।

 मैले आइतबार बिहानदेखि नै आयोगसँग सहयोगको अपील गरिरहेको थिएँ । आइतबार सार्वजनिक बिदाका कारण त्यो दिन आउन नसकिने र भोलिपल्ट आउने जानकारी दिइयो ।

सोमबार बिहान आयोग आउनुअघि नै मलाई अस्पतालबाट लैजाने तयारी भइरहेको जानकारी पाएँ । बिहान करीब ६ बजे प्रहरी अस्पताल आएर मलाई तयार पार्न र लैजान खोजे । मैले स्पष्ट रूपमा भनें, “मानव अधिकार आयोग नआएसम्म म कतै जाँदिनँ । मैले आयोगलाई पठाएको इमेल पनि प्रहरीलाई देखाउँदै आफ्नो अडान कायम राखें ।

प्रहरीसँग स्पष्टीकरण माग्दा उनीहरूले ‘माथिबाट निर्देशन आएको हो’ भन्ने जवाफ दिए । कीर्तिपुरका प्रहरी, इन्स्पेक्टर र एसपी पवन भट्टराईसँग सम्पर्क गर्दा पनि उनीहरूले विषय आफ्नो नियन्त्रणमा नभएको र माथिल्लो तहबाट निर्णय भइरहेको बताए । 

मैले अस्पताल प्रशासनलाई भनें, “प्रहरीले आफ्नो नियन्त्रणमा रहेको भने पनि म अहिले अस्पतालमा भर्ना भएको बिरामी हुँ । म अस्पतालकै जिम्मामा छु । यदि मलाई कुनै किसिमको हैरानी वा असुरक्षा हुन्छ भने कृपया मलाई संरक्षण दिनुस् ।” अस्पताल प्रशासनले प्रहरीलाई त्यहाँबाट जान आग्रह गरेपछि प्रहरीहरू क्याबिनको ढोकाबाहिर गएर बसे । करीब ४०/५० मिनेटपछि प्रहरीहरू अचानक त्यहाँबाट फर्किए ।

त्यसपछि मैले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफ्नो बयान दिएँ । आयोगका प्रतिनिधिहरूले मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिए र उपचारलाई निरन्तरता दिन आग्रह गरे । उनीहरूले प्रहरीसँग आवश्यक समन्वय गर्ने बताए । तर, मैले मेरो मुख्य चिन्ता अहिले व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको रहेको बताएँ । मलाई जुनसुकै बेला प्रहरीले फेरि आएर नियन्त्रणमा लिन सक्ने डर कायम रहेको छ ।

मैले प्रहरीसँग पटक–पटक आग्रह गरेको थिएँ कि यदि मलाई नियन्त्रणमा राखिएको हो भने कानूनी प्रक्रिया पूरा गरियोस् । पक्राउ गर्नुपर्ने भए पक्राउ पुर्जी दिइयोस् र न्यायिक प्रक्रिया शुरू गरियोस् । अन्यथा मलाई परिवार, कानून व्यवसायी वा जिम्मेवार व्यक्तिको जिम्मामा छोडियोस् । तर, मेरो कानूनी अवस्थाबारे आधिकारिक जानकारी दिइएन । म पक्राउमा छु, नियन्त्रणमा छु वा स्वतन्त्र छु? अझै स्पष्ट गरिएको छैन । तर, हालसम्म पक्राउ पुर्जी पनि दिइएको छैन ।
 (अन्सारी जेन–जी अभियन्ता हुन् ।)

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रिमियर कप क्रिकेट : जापानलाई हराउँदै नेपाल यू–१९ महिला टिम सेमिफाइनलमा

 नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले जापानमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो। नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले अविजित ४१...

प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग

चितवन । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ ।  कांग्रेसका कतिपय नेताहरूले अबको समीकरण नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग हुने बताइरहेको छ । उता, एमालेले पनि नेकपालाई...

मिटरब्याज पीडितहरुलाई ‘टाइम’ दिएर खोला अनुगमनमा व्यस्त गृहमन्त्री

बारा ३१ असार २०८३ मिटरब्याज पीडितहरूसँग छलफल गरी माग सम्बोधन गर्ने प्रतिबद्धतासहित बारा आइपुगेका गृहमन्त्री सुधन गुरुङ अन्य कार्यक्रममा व्यस्त बनेका छन्। वार्त्ताका लागि तय गरिएको समयभन्दा घण्टौं ढिला गरी गृहमन्त्री उद्योग र खोला अनुगमनमा केन्द्रित भएपछि निजगढमा प्रतिक्षारत मिटरब्याज पीडितहरू निराश बनेका हुन्। मङ्गलबार राति १० बजेसम्म चलेको पहिलो चरणको वार्तापछि बुधबार दिउँसो १२...

अनलाइन मिडिया र पत्रकारको प्रेस पास नवीकरण रोकिएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

रत्ननगर, ३१ असार ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका ३२७ अनलाइन सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरूको प्रेस पास नवीकरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुन लाग्दा समेत संघीय सरकारले छापाखाना र प्रकाशन नियमावली संशोधन...

अमेरिकाको रवैया नहटेसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाले आफ्ना सैन्य आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन खुला नगर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको आक्रमणक गतिविधि बन्द नगरेसम्म जलमार्गमा जहाज सञ्चालन अवरुद्ध रहने जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित जहाजहरूविरुद्ध पुनः नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि इरानले यस्तो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०