बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने
काठमाण्डौ – बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आउँदो १० दिनभित्र सञ्चालनमा आउने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो ।
अहिले तलको डाइभर्सनबाट गाडी गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुला गरिएको छैन । सभापति गजुरेलका अनुसार ट्रयाकको फाउण्डेसन तयार भइसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ ।
अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । आउँदो १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै गाडी गुड्ने वातावरण मिलाउने लक्ष्य छ ।
बाढी वा अन्य सङ्कटकालीन अवस्थामा नयाँ ट्रयाक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ । १० किलोमिटरको खण्डमा झन्डै एक सय कामदार नियमित खटिएका छन् । काभ्रे–सिन्धुली खण्डमा बाढीले भत्काएको सडकलाई असार १५ गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभयो ।
