"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

डोजरको गर्जन र कलमको रोदन !

Table of Content

डोजरको गर्जन र कलमको रोदन !

झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू ।

धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो संसार भग्नावशेष बनेर पल्टिरहेको । नजिकै प्रेसर कुकर चिसिएको अवस्थामा उत्तानो परेको, जसमा शायद बेलुकाको दाल पाक्ने आशा थियो । असरल्ल छरिएका थालहरूमा हिलो टाँसिएको थियो—मानौँ ती थालहरूले आफ्नै भोकको तस्वीर खिचिरहेका छन् । एउटा पुरानो बाकस फुटेर बाहिर निस्किएका थिए—चाउरिएका नागरिकताका प्रमाणपत्र, झुत्रा लुगाहरू र केही पुराना तस्वीरहरू । ती तस्वीरमा हाँसिरहेका अनुहारहरू अहिले त्यहीँ पुर्पुरोमा हात राखेर रुल्लटुल्ल हुँदै बसेका ।

नजिकै एक बालक भत्किएको घरको भग्नावशेषबाट आफ्नो च्यातिएको कापी तान्न खोज्दैछ । उसको ‘क कलम’ लेखिएको पानामा डोजरको पाङ्ग्राको छाप देखिन्छ । बालकको आँखामा आँसुसँगै एउटा शून्यता झल्किन्छ—जुन शून्यताले राज्यलाई सबैभन्दा ठूलो प्रश्न सोधिरहेकोजस्तो देखिन्छ ।

नजिकै छिन्, भर्खरै सुत्केरी भएकी एउटी आमा, जसको शरीर अझै काँपिरहेको छ । उनी एउटा च्यातिएको कम्बलमा आफ्नो १० दिनको बच्चा च्यापेर खुला आकाशमुनि आकाशतिर हेर्दै बसिरहेकी छिन् । न खानेकुरा, न त बच्चालाई ढाक्ने ओत । चिसो हावाले उनलाई जिस्क्याइरहेको छ, अनि नजिकै ठडिएको डोजरले ‘अतिक्रमणकारी’ को ट्याग भिराइरहेको छ ।

यही वीभत्स खण्डहरको बीचमा ‘भुँडीभन्दा अनुहार ठूलो’ शीर्षकमा वादविवाद प्रतियोगिता शुरू भयो । भुँडीको तर्फबाट बोल्ने प्रतिनिधि छन् – मसी रित्तिएर धुलैधुलो भएर बिरुप भएको कलम । अनुहारको तर्फबाट बोल्ने प्रतिनिधि छन् – ट्याँकीभरि तेल भएर पनि माथि दुई ड्रम थप तेल बोकेर दाह्रा किट्दै बसेको डोजर ।

निर्णायकको आसनमा छन् – गरिबको चमेली गीत गाउँदै चुनाव जितेको सरकार, विकासका इन्जिनियर र शहरका सौन्दर्यविद्हरू । अनि छेउमा रमिता हेरिरहेका छन् – पुराना दलका नेता, नागरिक समाज, पुराना अभियन्ता र कन्टेन्ट क्रियटरहरू ।

पहिलो वक्ताका रूपमा डोजर अघि सर्‍याे । आफ्नो फलामको पन्जा हावामा लहराउँदै इन्जिनको आवाजमा गर्जियो :

महोदय, म कुरुपताको शत्रु हुँ । मलाई कसैले निष्ठुरी भन्छ भने भनोस् । पहिले मैले पुराना दलका आफूखुशी रजगजलाई साथ दिँदै गाउँगाउँमा भीरपखरा कोतरेर नाममात्रैको बाटो कोरेँ । अहिले म यो शहरको ‘मेकअप आर्टिस्ट’ का रूपमा काम गर्दैछु । हेर्नुस् त यो अस्तव्यस्तता । यी झुुप्राझुप्री, यी धुलाम्मे मान्छेहरू—के यिनले हाम्रो देशलाई सभ्य देखाउँछन् ? विदेशी पर्यटक यहाँ आउँदा के यी सुत्केरीका आँसु खिचेर बस्छन् ? अहँ, उनीहरू त चिल्लो सडक र फराकिलो पार्क हेर्न आउँछन् ।

डोजरले अझ तीखो स्वरमा भन्यो :

भुँडी त एउटा व्यक्तिगत र गुपचुप कुरा हो । कसको भुँडीभित्र कति अन्न छ, त्यो कसले देख्छ ? तर शहरको अनुहार ऐना हो । अनुहार बिग्रियो भने राष्ट्रकै इज्जत जान्छ । त्यसैले पहिले ‘ब्युटिफिकेशन’, त्यसपछि मात्र ‘ह्युम्यानिटी’ । म भत्काउँछु ताकि यहाँ सेल्फी खिच्न मिल्ने बगैँचा बनोस् । सम्झनुस्—फोटो राम्रो आउनलाई पृष्ठभूमि सफा हुनुपर्छ, चाहे त्यो पृष्ठभूमि सफा गर्दा केही जीवनहरू नै किन नपखालिउन् !

अब पालो आयो भुँडी अर्थात् जीवनको पक्षमा बोल्दा रित्तिएको कलमको । डोजरले भत्काएको भग्नावशेषको धुलोभित्रबाट एउटा भाँचिएको र मसी रित्तिएको कलम बिस्तारै उठ्यो । अघिल्तिर बडेमानको डोजर देख्नेबित्तिकै डरायो र कापेको स्वरमा विनम्र भई बोल्न थाल्यो :

महोदय, म त्यही कलम हुँ जसले यो देशको संविधानमा ‘खान, बस्न र लाउन पाउने अधिकार’ र ‘बाँच्न पाउने अधिकार’ लेख्दा मसीले लबालब भरिएको थियो । त्यो मसी आज यो डोजरले तेल ठानेर पियो । तर के डोजरले ती सपनाहरू पनि भत्काउन सक्छ जो केटाकेटीका च्यातिएका कापीमा कोरिएका छन् ?

कलमले सुत्केरी आमातिर देखाउँदै भन्यो :

तपाईं अनुहारको कुरा गर्नुहुन्छ । एकपटक यी आमाको अनुहार हेर्नुस् त । के यो अनुहार तपाईंको स्मार्ट सिटीको नक्सामा अटाउँछ ? सडक फराकिलो बनाउँदा मान्छेका मन किन साँघुरो बनाउँदै हुनुहुन्छ ? पहिले मान्छेलाई जिउने आधार दिनुस्, त्यसपछि मात्र पार्कको कुरा गर्नुस् । भोकले आन्द्रा बटारिएको मान्छेले तपाईंको सुन्दर बगैँचामा पुतली हेरेर बस्न सक्दैन । भुँडी खाली छ भने संसारको सबैभन्दा सुन्दर दृश्य पनि कुरुप लाग्छ ।

कलमले अन्तिममा भन्यो : तपाईं अनुहारको मुस्कान लुटेर कृत्रिम चमकको कुरा गर्नुहुन्छ । दुई–चार जना हुकुम्बासीलाई देखाउँदै हजारौँ सुकुम्बासीको छातीमा नाच्नुहुन्छ ? डोजरजी यो कस्तो न्याय हो ?

चौरको छेउमा बसेर रमिता हेरिरहेका पुराना दलका नेताहरू साउती मार्दैछन् – ठिक्क पर्‍याे, खुच्चिङ । खुब नयाँ–नयाँ भनेर हामीलाई छोडेर उनीहरूलाई भोट दिएका हैनौँ ? अब त्यही खाली भुँडीमा सारङ्गी बजाएर ‘गरीबको चमेली’ गीत गाउन बाँकी छ, अनि झनै हेर्न मज्जा हुन्छ ।

अलि पर बसेका नागरिक समाजका मान्छेहरूले महँगो क्यापुचिनोको चुस्की लिँदै नोटप्याडमा केही लेखेजस्तो गरे । पहिले अभियन्ता हुँदै अहिले सत्तामा पुगेकाहरू मौन बसे ।

कन्टेन्ट क्रियटरको उपाधि भिरेका केही मान्छेले आइफोन तेर्स्याएर लाइभ गरे – हेर्नुस् साथीहरू, यहाँ कस्तो भइरहेको छ । लाइक र शेयर गर्न नभुल्नुहोला है ?

निर्णायक पनि उठे । निर्णायक उनै थिए, जसले केही दिनअघि सुकुम्बासीको घरमा सरकारले आँखा लगाउँदैन भनेर भाषण ठोकेका थिए । बस्तीमा डोजर चल्यो भने छाती थाप्न आउँछु भन्ने निर्णायकको बोलीमा कानूनको चिसोपन थियो ।

उनले गम्भीर हुँदै भने : हामीले दुवै पक्षको कुरा सुन्यौँ । कलमको कुरा भावानात्मक छ, तर डोजरको कुरा व्यावहारिक छ । देश बनाउन बलिदान चाहिन्छ । र इतिहासले बारम्बार प्रमाणित गरेको छ, बलिदान गरिबको रगत उम्लेपछि मात्र प्राप्त हुन्छ । बलिदानमा बगेको रगत सफा गर्न पनि डाेजर नै आवश्यक छ । त्यसैले आजको वादविवाद डोजरले जितेको छ ।

फैसला सुनाउनेबित्तिकै डोजरको इन्जिनले गर्जन निकाल्यो । हारेको कलम धुलो र हिलोमा पुरियो । चिसो र डरले लुगलुग काँप्दै गरेकी सुत्केरी आमा बच्चालाई न्यानो पार्न भुइँमा घोप्टो परिन् । बा आफ्नो फोटोको फ्रेम बोकेर सुत्केरी श्रीमतीको टाउकोमा ओत लगाउने प्रयासमा लागे । स्कुलसमेत भत्किएर अन्योलमा परेको बालक च्यातिएको कापीमा आफ्नो हराएको भविष्य खोज्न लाग्याे । खेल्दै गरेकी बालिका पुरिएको खेलौना र छुटेका साथी सम्झेर रुन लागिन् । बाँकी टहरातिर फलामे दाँत तेर्साउँदै डोजर विजयभावमा गर्जियो – कुरुप अनुहारहरू शहरबाट टाढा जाओ !

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०