"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

डोजरको गर्जन र कलमको रोदन !

Table of Content

डोजरको गर्जन र कलमको रोदन !

झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू ।

धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो संसार भग्नावशेष बनेर पल्टिरहेको । नजिकै प्रेसर कुकर चिसिएको अवस्थामा उत्तानो परेको, जसमा शायद बेलुकाको दाल पाक्ने आशा थियो । असरल्ल छरिएका थालहरूमा हिलो टाँसिएको थियो—मानौँ ती थालहरूले आफ्नै भोकको तस्वीर खिचिरहेका छन् । एउटा पुरानो बाकस फुटेर बाहिर निस्किएका थिए—चाउरिएका नागरिकताका प्रमाणपत्र, झुत्रा लुगाहरू र केही पुराना तस्वीरहरू । ती तस्वीरमा हाँसिरहेका अनुहारहरू अहिले त्यहीँ पुर्पुरोमा हात राखेर रुल्लटुल्ल हुँदै बसेका ।

नजिकै एक बालक भत्किएको घरको भग्नावशेषबाट आफ्नो च्यातिएको कापी तान्न खोज्दैछ । उसको ‘क कलम’ लेखिएको पानामा डोजरको पाङ्ग्राको छाप देखिन्छ । बालकको आँखामा आँसुसँगै एउटा शून्यता झल्किन्छ—जुन शून्यताले राज्यलाई सबैभन्दा ठूलो प्रश्न सोधिरहेकोजस्तो देखिन्छ ।

नजिकै छिन्, भर्खरै सुत्केरी भएकी एउटी आमा, जसको शरीर अझै काँपिरहेको छ । उनी एउटा च्यातिएको कम्बलमा आफ्नो १० दिनको बच्चा च्यापेर खुला आकाशमुनि आकाशतिर हेर्दै बसिरहेकी छिन् । न खानेकुरा, न त बच्चालाई ढाक्ने ओत । चिसो हावाले उनलाई जिस्क्याइरहेको छ, अनि नजिकै ठडिएको डोजरले ‘अतिक्रमणकारी’ को ट्याग भिराइरहेको छ ।

यही वीभत्स खण्डहरको बीचमा ‘भुँडीभन्दा अनुहार ठूलो’ शीर्षकमा वादविवाद प्रतियोगिता शुरू भयो । भुँडीको तर्फबाट बोल्ने प्रतिनिधि छन् – मसी रित्तिएर धुलैधुलो भएर बिरुप भएको कलम । अनुहारको तर्फबाट बोल्ने प्रतिनिधि छन् – ट्याँकीभरि तेल भएर पनि माथि दुई ड्रम थप तेल बोकेर दाह्रा किट्दै बसेको डोजर ।

निर्णायकको आसनमा छन् – गरिबको चमेली गीत गाउँदै चुनाव जितेको सरकार, विकासका इन्जिनियर र शहरका सौन्दर्यविद्हरू । अनि छेउमा रमिता हेरिरहेका छन् – पुराना दलका नेता, नागरिक समाज, पुराना अभियन्ता र कन्टेन्ट क्रियटरहरू ।

पहिलो वक्ताका रूपमा डोजर अघि सर्‍याे । आफ्नो फलामको पन्जा हावामा लहराउँदै इन्जिनको आवाजमा गर्जियो :

महोदय, म कुरुपताको शत्रु हुँ । मलाई कसैले निष्ठुरी भन्छ भने भनोस् । पहिले मैले पुराना दलका आफूखुशी रजगजलाई साथ दिँदै गाउँगाउँमा भीरपखरा कोतरेर नाममात्रैको बाटो कोरेँ । अहिले म यो शहरको ‘मेकअप आर्टिस्ट’ का रूपमा काम गर्दैछु । हेर्नुस् त यो अस्तव्यस्तता । यी झुुप्राझुप्री, यी धुलाम्मे मान्छेहरू—के यिनले हाम्रो देशलाई सभ्य देखाउँछन् ? विदेशी पर्यटक यहाँ आउँदा के यी सुत्केरीका आँसु खिचेर बस्छन् ? अहँ, उनीहरू त चिल्लो सडक र फराकिलो पार्क हेर्न आउँछन् ।

डोजरले अझ तीखो स्वरमा भन्यो :

भुँडी त एउटा व्यक्तिगत र गुपचुप कुरा हो । कसको भुँडीभित्र कति अन्न छ, त्यो कसले देख्छ ? तर शहरको अनुहार ऐना हो । अनुहार बिग्रियो भने राष्ट्रकै इज्जत जान्छ । त्यसैले पहिले ‘ब्युटिफिकेशन’, त्यसपछि मात्र ‘ह्युम्यानिटी’ । म भत्काउँछु ताकि यहाँ सेल्फी खिच्न मिल्ने बगैँचा बनोस् । सम्झनुस्—फोटो राम्रो आउनलाई पृष्ठभूमि सफा हुनुपर्छ, चाहे त्यो पृष्ठभूमि सफा गर्दा केही जीवनहरू नै किन नपखालिउन् !

अब पालो आयो भुँडी अर्थात् जीवनको पक्षमा बोल्दा रित्तिएको कलमको । डोजरले भत्काएको भग्नावशेषको धुलोभित्रबाट एउटा भाँचिएको र मसी रित्तिएको कलम बिस्तारै उठ्यो । अघिल्तिर बडेमानको डोजर देख्नेबित्तिकै डरायो र कापेको स्वरमा विनम्र भई बोल्न थाल्यो :

महोदय, म त्यही कलम हुँ जसले यो देशको संविधानमा ‘खान, बस्न र लाउन पाउने अधिकार’ र ‘बाँच्न पाउने अधिकार’ लेख्दा मसीले लबालब भरिएको थियो । त्यो मसी आज यो डोजरले तेल ठानेर पियो । तर के डोजरले ती सपनाहरू पनि भत्काउन सक्छ जो केटाकेटीका च्यातिएका कापीमा कोरिएका छन् ?

कलमले सुत्केरी आमातिर देखाउँदै भन्यो :

तपाईं अनुहारको कुरा गर्नुहुन्छ । एकपटक यी आमाको अनुहार हेर्नुस् त । के यो अनुहार तपाईंको स्मार्ट सिटीको नक्सामा अटाउँछ ? सडक फराकिलो बनाउँदा मान्छेका मन किन साँघुरो बनाउँदै हुनुहुन्छ ? पहिले मान्छेलाई जिउने आधार दिनुस्, त्यसपछि मात्र पार्कको कुरा गर्नुस् । भोकले आन्द्रा बटारिएको मान्छेले तपाईंको सुन्दर बगैँचामा पुतली हेरेर बस्न सक्दैन । भुँडी खाली छ भने संसारको सबैभन्दा सुन्दर दृश्य पनि कुरुप लाग्छ ।

कलमले अन्तिममा भन्यो : तपाईं अनुहारको मुस्कान लुटेर कृत्रिम चमकको कुरा गर्नुहुन्छ । दुई–चार जना हुकुम्बासीलाई देखाउँदै हजारौँ सुकुम्बासीको छातीमा नाच्नुहुन्छ ? डोजरजी यो कस्तो न्याय हो ?

चौरको छेउमा बसेर रमिता हेरिरहेका पुराना दलका नेताहरू साउती मार्दैछन् – ठिक्क पर्‍याे, खुच्चिङ । खुब नयाँ–नयाँ भनेर हामीलाई छोडेर उनीहरूलाई भोट दिएका हैनौँ ? अब त्यही खाली भुँडीमा सारङ्गी बजाएर ‘गरीबको चमेली’ गीत गाउन बाँकी छ, अनि झनै हेर्न मज्जा हुन्छ ।

अलि पर बसेका नागरिक समाजका मान्छेहरूले महँगो क्यापुचिनोको चुस्की लिँदै नोटप्याडमा केही लेखेजस्तो गरे । पहिले अभियन्ता हुँदै अहिले सत्तामा पुगेकाहरू मौन बसे ।

कन्टेन्ट क्रियटरको उपाधि भिरेका केही मान्छेले आइफोन तेर्स्याएर लाइभ गरे – हेर्नुस् साथीहरू, यहाँ कस्तो भइरहेको छ । लाइक र शेयर गर्न नभुल्नुहोला है ?

निर्णायक पनि उठे । निर्णायक उनै थिए, जसले केही दिनअघि सुकुम्बासीको घरमा सरकारले आँखा लगाउँदैन भनेर भाषण ठोकेका थिए । बस्तीमा डोजर चल्यो भने छाती थाप्न आउँछु भन्ने निर्णायकको बोलीमा कानूनको चिसोपन थियो ।

उनले गम्भीर हुँदै भने : हामीले दुवै पक्षको कुरा सुन्यौँ । कलमको कुरा भावानात्मक छ, तर डोजरको कुरा व्यावहारिक छ । देश बनाउन बलिदान चाहिन्छ । र इतिहासले बारम्बार प्रमाणित गरेको छ, बलिदान गरिबको रगत उम्लेपछि मात्र प्राप्त हुन्छ । बलिदानमा बगेको रगत सफा गर्न पनि डाेजर नै आवश्यक छ । त्यसैले आजको वादविवाद डोजरले जितेको छ ।

फैसला सुनाउनेबित्तिकै डोजरको इन्जिनले गर्जन निकाल्यो । हारेको कलम धुलो र हिलोमा पुरियो । चिसो र डरले लुगलुग काँप्दै गरेकी सुत्केरी आमा बच्चालाई न्यानो पार्न भुइँमा घोप्टो परिन् । बा आफ्नो फोटोको फ्रेम बोकेर सुत्केरी श्रीमतीको टाउकोमा ओत लगाउने प्रयासमा लागे । स्कुलसमेत भत्किएर अन्योलमा परेको बालक च्यातिएको कापीमा आफ्नो हराएको भविष्य खोज्न लाग्याे । खेल्दै गरेकी बालिका पुरिएको खेलौना र छुटेका साथी सम्झेर रुन लागिन् । बाँकी टहरातिर फलामे दाँत तेर्साउँदै डोजर विजयभावमा गर्जियो – कुरुप अनुहारहरू शहरबाट टाढा जाओ !

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्। वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक...

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा काठमाण्डौ – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा ८१ हजार एक सय ५५ रोपनी  सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो...

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने काठमाण्डौ – बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आउँदो १० दिनभित्र सञ्चालनमा आउने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे...

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की काठमाण्डौ – नेकपा एमालेका चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् ।  भक्तपुरको गुन्डुमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्...

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता काठमाण्डौ – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्रबाबु राई (जिबी) विरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ ।  तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०