राप्ती, चितवन । राप्ती नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूले गरेको भनिएको शुल्क वृद्धिको विरोधमा ‘जिम्मेवार युवाहरू’ले राप्ती नगरपालिका र नगर शिक्षा शाखालाई ७ दिने अल्टिमेटम दिएका छन्।
जिम्मेवार युवाहरूको नाममा जारी सार्वजनिक विज्ञप्तिमा निजी तथा संस्थागत विद्यालयहरूलाई ठूलो प्रतिशतसम्म शुल्क वृद्धि गर्न अनुमति/निर्णय गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क वृद्धि गर्नुअघि विद्यालयहरूको शैक्षिक गुणस्तर, वास्तविक सञ्चालन लागत, शिक्षक तथा कर्मचारीको अवस्था, पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धि तथा अभिभावकमाथि पर्ने आर्थिक भारलगायतका विषयमा मूल्याङ्कन गरिएको हो कि होइन भन्ने प्रश्नसमेत उठाइएको छ।
विज्ञप्तिमा त्यस्तो मूल्याङ्कन गरिएको भए त्यसको आधार, निर्णय र प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। साथै शुल्क वृद्धि कुन ऐन, नियम, मापदण्ड, अध्ययन वा निर्णयका आधारमा गरिएको हो भन्नेबारे नगरपालिकाले स्पष्ट पार्नुपर्ने माग गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत संस्थागत विद्यालयको शुल्क निर्धारण र छात्रवृत्ति व्यवस्थापनमा स्थानीय तहबाट स्वीकृत कानून, मापदण्ड वा निर्देशिकाका आधारमा प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न आग्रह गरेको छ। मन्त्रालयको सूचनामा संस्थागत विद्यालयको शुल्कसम्बन्धी विवरण स्थानीय तह तथा सम्बन्धित विद्यालयबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ।
जिम्मेवार युवाहरूले शुल्क वृद्धि तत्काल फिर्ता गर्नुपर्ने, शुल्क निर्धारणसम्बन्धी कानुनी आधार, निर्णयको माइन्युट तथा विद्यालयगत शुल्क विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, शुल्क निर्धारण गर्दा अभिभावक तथा विद्यार्थीमाथि पर्ने आर्थिक भारलाई ध्यान दिनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर मापनका स्पष्ट, वस्तुनिष्ठ र पारदर्शी आधार सार्वजनिक गर्नुपर्ने तथा अभिभावक, विद्यार्थी र अन्य सरोकारवालासँग सार्वजनिक छलफल गरी कानूनसम्मत र उचित शुल्क निर्धारण गर्नुपर्ने उनीहरूको माग छ।
विज्ञप्ति प्रकाशित भएको मितिले ७ दिनभित्र माग सम्बोधन गरी शुल्क वृद्धि फिर्ता तथा पारदर्शी ढंगले नयाँ निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
७ दिनभित्र माग सम्बोधन नभए अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालासँग समन्वय गरी प्रचलित कानूनको पालना गर्दै शान्तिपूर्ण तथा लोकतान्त्रिक दबाबमूलक कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
‘यो कुनै व्यक्ति वा विद्यालयविरुद्धको व्यक्तिगत विरोध नभई अभिभावकमाथि पर्ने आर्थिक भार, विद्यार्थीको अधिकार, पारदर्शिता र स्थानीय सरकारको जवाफदेहितासँग जोडिएको सार्वजनिक सरोकारको विषय हो,’ विज्ञप्तिमा भनिएको छ।
राप्ती नगरपालिकाको आधिकारिक वेबसाइटमा शिक्षा शाखाअन्तर्गत विद्यालयसम्बन्धी विभिन्न सूचना तथा शैक्षिक विवरणहरू प्रकाशित हुँदै आएका छन्। नगरपालिकाले हालसम्म उक्त शुल्क वृद्धि सम्बन्धमा सार्वजनिक रूपमा के निर्णय गरेको हो भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको देखिँदैन।
जिम्मेवार युवाहरूले विज्ञप्तिको अन्त्यमा ‘शिक्षामा गुणस्तर चाहिन्छ, गुणस्तरको नाममा मनोमानी शुल्क वृद्धि होइन’ भन्ने धारणा सार्वजनिक गरेका छन्।
