काठमाण्डौ – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ ।
अङ्ग्रेजी नयाँ वर्षको दिन २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरु हुन लागेको हो ।
नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी, उद्योगीलगायत उत्साहित भएका छन् । अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका सवा ६ बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका सवा ७ बजे दुबईका लागि प्रस्थान गर्नेछ ।
विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ । अध्यागमन, भन्सार, कार्गोलगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो । फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो । राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको कामका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको उहाँले बताउनुभएको छ ।
दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
