काठमाण्डौ – कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्नेक्रम शुरु भएको छ ।
देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् डेभिड ढकालका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भैरहेको छ ।
मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ्न सक्ने उहाँको भनाइ छ । तर अहिले वर्षा भैरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन । भोलि बेलुकासम्म पानीपर्ने र रोकिन क्रम हुनेछ । त्यसपछि गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार ११ गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा अरिघोप्टे वर्षा हुनेछ ।
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत् देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि एक/दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ । त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ । हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् विनोद पोखरेलकाअनुसार पुर्वका कोशी र बागमतीमा आज बेलुकादेखि १० गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहीबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सिदेखि ११ गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि ११ गते आइतबारसम्म पानी पर्ने देखिन्छ ।
बाढी/पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्वसूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन् । सकेसम्म रातको समयमा यात्रा नगर्न, धानबालीमा पानीको निकास व्यवस्था गर्न पनि आग्रह छ ।


