काठमाण्डौ – त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधिसभामा उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो ।
सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो । उहाँले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनु भयो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो । उहाँले चालकको तलब–सुविधा, कामको समय, आत्मसम्मान र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुग्नुपर्ने भन्दै सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आफ्नो कार्यशैलीको समीक्षा गर्न आग्रह गर्नुभयो ।
त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ पूर्णतः अन्यायपूर्ण र अव्यावहारिक रहेको भन्दै आपत्ति जनाउनु भयो ।
ट्राफिक वा प्रहरीले गरेको कारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशक कहाँ पुगेर उजुरी दिनुपर्ने विद्यमान कानुनी व्यवस्थाको खिल्ली उडाउँदै उहाँले दार्चुला वा विकट जिल्लाका चालकले ५०० रुपैयाँको जरिवाना चित्त नबुझेर ५० हजार रुपैयाँ खर्च गरी काठमाण्डौ धाउन सम्भव छ कि छैन भनी सभामुखमार्फत सरकारसँग प्रश्न गर्नुभयो ।
