चितवन । चितवनको चियादानी नामक चिया पसलले चुनाव लक्षित गरी चुनाव चिया नामको चिया विक्री थालेको छ ।
चियादानीका सञ्चालक फणीन्द्र न्यौपानेका अनुसार स्थानीय निर्वाचनलाई चिया गफ र विचार–विमर्शसँग जोड्ने उद्देश्यले उनले आज बुधबारदेखि नयाँ अवधारणा ल्याएका हुन्।
चिया पसललाई युवा पुस्ताको भेटघाट, बहस र विचार आदान–प्रदानको साझा थलोका रूपमा उपयोग गर्दै ‘चुनाव चिया’मार्फत स्थानीय चुनाव, विकास, नेतृत्व र देश निर्माणका विषयमा छलफल गर्ने वातावरण बनाउने उद्देश्य राखिएको छ।
‘चिया तातो होस्, बहस विचारको होस्’ भन्ने नारासहित सुरु गरिएको ‘चुनाव चिया’को मूल्य ३५ रुपैयाँ तोकिएको छ।
उक्त चिया भरतपुर १० स्थित सप्तगण्डकी चोक र सौराहा चोकस्थित चियादानीमा मात्र उपलब्ध हुने सञ्चालक न्यौपानेले जानकारी दिए।
चियासँगै समसामयिक राजनीतिक तथा सामाजिक विषयमा संवाद गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले विशेषगरी युवालाई बहस र विचार आदान–प्रदानमा जोड्ने अपेक्षा गरिएको छ।
