भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लालकिल्लाबाट देशबासीका नाममा सम्बोधन गर्नुभएको छ ।
लालकिल्ला पुग्नुअघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले विगत १२ वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।
विगत १२ वर्षमा २५ करोड नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दाबी छ । प्रधानमन्त्री मोदीले लगातार १३ औँ पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ ।
सन् १९४७ अगस्ट १५ मा झण्डै दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । १८ औँ शताब्दीको मध्यतिर ईस्ट इण्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो ।
