"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दरबार हत्याकाण्ड छानबिन घोषणा: प्रहरीमार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्योल

Table of Content

काठमाडौँ — दोस्रो पटक गृहमन्त्री बन्नेबित्तिकै सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । नेपाल प्रहरीमार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमै अन्योल हुँदा अनुसन्धान प्रक्रिया सुरु हुन नसकेको हो ।

२६ जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरुङले प्रहरी महानिरीक्षक  दानबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए । त्यसक्रममा प्रहरीमार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । तर प्रहरी अधिकारीले तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपालसमेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्रिपरिषद्बाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । 

‘पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोडमा पुग्न सकिँदैन भन्ने बुझाइ प्रहरीको रह्यो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोडमा पुग्ने भन्ने टुंगो लागेको छैन ।’

गुरुङले केही दिनअघि कान्तिपुरसँग अन्तर्वार्तामा दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए । ‘गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो,’ उनले भनेका थिए । गृह प्रवक्ता आनन्द काफ्लेले पुरानो प्रतिवेदनको अध्ययन र उपलब्ध तथ्य, प्रमाण संकलन गरेपछि कसरी अघि बढ्ने भन्नेमा निर्णय हुने बताए । ‘कुन मोडालिटीमा जान्छ भन्ने विषय अध्ययनमै छ,’ उनले थपे । 

नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले दरबार हत्याकाण्डको अनुसन्धानसँग सम्बन्धित विषयमा हालसम्म प्रहरी प्रधान कार्यालयलाई कुनै जानकारी नभएको बताए । ‘हामीकहाँ केही आएको छैन, गृह मन्त्रालयतिरै बुझ्नुपर्ला,’ उनले कान्तिपुरसँग भने । जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले पनि त्यससम्बन्धी अनुसन्धान हालसम्म सुरु नभएको बताएका छन् ।

मन्त्रालय उच्च स्रोतबाट प्राप्त जानकारीअनुसार, दरबार हत्याकाण्डको अनुसन्धानमा तीन प्रमुख समस्या रहेको ब्रिफिङ प्रहरी नेतृत्वबाट पहिल्यै भइसकेको छ । ‘मन्त्रीज्यूले निर्णय गरेपछि सुरक्षा प्रमुखसँग भएको भेटका क्रममा प्रहरीबाट घटनास्थल मुचुल्का र पोस्टमार्टम रिपोर्ट नभएकाले अनुसन्धानमा जटिलता रहेको ब्रिफिङ भएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यस्तै कुन हतियार प्रयोग भयो भन्ने सन्दर्भमा ब्यालेस्टिक जाँच नभएकाले समेत अनुसन्धान गर्न गाह्रो छ ।’

कान्तिपुरले कुराकानी गरेका अनुसन्धान अधिकृतहरूले समेत त्यसबेला घटनामा प्रयोग भएको हतियार र गोलीको प्रकार, शरीरमा लागेका घाउचोट के कस्ता थिए र स्वाभाविक थिए कि थिएनन् भन्नेमा प्रमाण नभएकाले छानबिन गर्न कठिनाइ हुने बताएका छन् । ‘प्रहरीले गर्ने अनुसन्धान भनेको अभियोजन गर्ने उद्देश्यले हुने हो, अदालतमा मुद्दा चल्ने विषयलाई तथ्य र प्रमाणले के देखाउँछ भन्ने महत्त्वपूर्ण हुन्छ,’ प्रहरीको ब्रिफिङबारे ती अधिकारीले थप प्रस्ट पारे, ‘अहिलेसम्मको प्रमाणबाट कुनै निष्कर्ष निकाल्न सकिने अवस्था देखिँदैन, प्रहरीमार्फत यसको अनुसन्धान जटिल विषय हो ।’

दरबार हत्याकाण्डपछि घटनास्थलको तस्बिर खिच्न खटाइएका पूर्वप्रहरी उपरीक्षक (एसपी) शेरबहादुर कार्की आफू पाँचौं दिनपछि मात्र पुग्न पाएको स्मरण गर्दै प्राविधिक पक्षबाट अनुसन्धान गर्न कठिनाइ भएको बताउँछन् । ‘फोटोका आधारमा अहिले सहयोग पुग्छ जस्तो लाग्दैन, धेरै कुरा परिकल्पना गर्नुपर्ने स्थिति छ,’ उनले कान्तिपुरसँग भने, ‘बरु अहिले पनि कतिपय प्रत्यक्षदर्शी जीवितै हुनुहुन्छ, उहाँहरूको बयानका आधारमा केही निस्किन सक्छ ।’ 

पुरानो संरचना यथावत् रहेको भए नयाँ अनुसन्धान अधिकृतहरूलाई तस्बिर हेरेर केही भेउ पाउन सहज हुने सम्भावना रहन्थ्यो, तर ती संरचना नभएकाले अहिले थुप्रै कठिनाइ हुन सक्ने कार्कीको भनाइ छ ।

प्रहरी र गृहमन्त्रीबीच भएको संवादबारे जानकार एक प्रहरी उच्च अधिकृतले दरबार हत्याकाण्ड अनुसन्धानका लागि एउटा प्रमुख आधार भनेको त्यसबेलाको प्रतिवेदन मात्र भएको उल्लेख गर्दै भने, ‘त्यो प्रतिवेदन तयार गर्ने व्यक्तिहरूले कुनै दबाब वा प्रभावमा परेर प्रतिवेदन दिएका थिए कि वस्तुनिष्ठ रूपमा दिएका थिए, त्यसमा थप बुझ्न सकिन्छ । उनीहरूले नयाँ तथ्य प्रस्तुत गरे भने एउटा कुरा होला, अन्यथा अनुसन्धान धेरै अगाडि बढ्ने आधार देखिँदैन ।’

२२ जेठ २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले दरबारमा भएको घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरेका थिए । तर, प्रतिपक्षी दलका नेता नेपालले समितिको सदस्यबाट राजीनामा दिएका थिए । ‘समिति बनाउने कुरा हुँदा हामी वीरेन्द्र सैनिक अस्पताल छाउनीमै थियौं,’ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का तत्कालीन प्रमुख देवीराम शर्मा सम्झन्छन्, ‘सुरुमा प्रतिपक्षी दलका नेता नेपालले नै आफूलाई समितिमा राख्न भन्नुभएको थियो, पछि के कारणले हो, उहाँले समितिमा बस्न अस्वीकार गर्नुभयो ।’ 

ads/naimaexpo-0382026071342.jpg

त्यसपछि दुई सदस्यीय टोलीले प्रतिवेदन तत्कालीन युवराजाधिराज दीपेन्द्रले गोली प्रहार गरेर नरसंहार मच्चाएको संकेतसहितको प्रतिवेदन बुझाएको थियो । दरबारमा त्यसबेला उपस्थित राजपरिवारका अधिकांशको बयानमा समेत दीपेन्द्रले गोली चलाएको भनिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, १९ जेठ २०५८ मा नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा राजपरिवार सदस्यसहित नातेदारसमेत गरी कम्तीमा २४ जनाको उपस्थिति थियो । युवराज दीपेन्द्रले बेलुकी साढे ७ बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलेको र पानी नराखी ह्वीस्की पिएको बयानमा उद्धृत गरिएको छ । 

‘राजा वीरेन्द्र सदनमा आउनु पहिल्यै तत्कालीन युवराज दीपेन्द्रले आफ्नो शरीर थाम्न नसकेको जस्तो लागेर अधिराजकुमार नीराजन, शाहज्यादा पारस, कुमार गोरख र डा. राजीवसमेतले खोपीमा लगेको खुलेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उहाँ कोठामै रहेका बेला राति ८ः१९ बजे आफ्ना पार्श्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरेअनुसार निजले विशेष प्रकारको शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट विलियार्ड कोठाको पूर्वढोकामा गएर शाहज्यादा पारसमार्फत जिम्मा दिई आएको रामकृष्णबाट जानकारी पाइयो ।’

छानबिनका क्रममा आयोगले नेपाल दूरसञ्चार संस्थाबाट समेत विवरण मगाएको थियो । त्यसक्रममा युवराज दीपेन्द्रको देवयानी राणासँग समेत तीन पटक संवाद भएको देखिएको थियो । भारतमा उपचारका क्रममा रहेकी राणाले दीपेन्द्रको स्वर लरबराइ रहेको भन्दै खोपीमा गएर उनलाई हेर्न पार्श्ववर्ती गजेन्द्र बोहरा र राजु कार्कीलाई भनेको बयान दिएकी थिइन् । 

राणासँग कुरा गरिसकेपछि दीपेन्द्र सैनिक कम्ब्याट पोसाक लगाएर हातहतियार लिएर खोपीबाट बाहिर निस्किएको अर्दली रामकृष्णले भनेका छन् । उनले त्यसबेला ‘इमर्जेन्सी ब्याग 

टक्र्याउँ’ भन्दा दीपेन्द्रले ‘अहिले पर्दैन’ भनेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि दुईतर्फ राइफल र १२ बोरको बन्दुक बोकेर उनी विलियार्ड कोठातर्फ प्रवेश गरेको भनिएको छ ।

‘कालो रङको बन्दुकबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल अरूसँग कुरा गरिबक्सेको अवस्थामा महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्की कोठाको पूर्वतर्फ भित्री बगैंचाको छेउकै उत्तरतर्फ झ्याङनजिक बन्दुक फ्याँक्नुभएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसपछि फेरि विलियार्ड कोठामा प्रवेश गरेर बत्ती र टेलिस्कोपसहितको राइफल सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं गुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाहसमेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगेर पुनः तेस्रो पटक अधिराजकुमारी श्रुति राज्यलक्ष्मी, अधिराजकुमारी शारदा, शान्ति राज्यलक्ष्मी, शाहज्यादी जयन्ती शाहलगायतलाई लाग्ने गरी जथाभाबी फायरिङ गरी बाहिर पछाडि सर्दै गइबक्सेको ।’ 

ads/ekantipur-6800x1100px-0442026081853.jpg

घटनास्थलमा उपस्थित अधिराजकुमारी शोभा, शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रविशमशेर, डा. राजीव शाह, महेश्वरकुमार सिंहसमेतको बयानलाई उल्लेख गर्दै आयोगले प्रतिवेदन बुझाएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०