काठमाडौं । क्रिकेट स्कटल्यान्ड र रोयल डच क्रिकेट एसोसिएसन (नेदरल्यान्ड्स) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पुरुष ५० ओभरको विश्वकपको छनोट प्रक्रिया तथा प्रतियोगिताको संरचनामा गरेको परिवर्तनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
दुवै संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकप सुरु हुन अब १८ महिनाभन्दा पनि कम समय बाँकी रहेको अवस्थामा यी परिवर्तनहरू लागु गरिनुलाई चिन्ताजनक विषय भनेका छन् ।
यी परिवर्तनहरूले एसोसिएट सदस्य राष्ट्रको क्रिकेटका लागि ठूलो धक्का पुग्ने र विश्वव्यापी क्रिकेटको विकासमा पछिल्ला वर्षहरूमा हासिल भएको प्रगतिलाई कमजोर पार्ने जोखिम बोकेको विज्ञप्तिमा जनाइएको छ ।
दुवै राष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रिकेटले आफ्नो पहुँच विस्तार गर्ने, नयाँ दर्शक आकर्षित गर्ने र अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा आफ्नो स्थान अझ बलियो बनाउने प्रयास गरिरहेको समयमा उदीयमान क्रिकेट राष्ट्रहरूलाई अर्थपूर्ण अवसरहरू घटाउनु गलत सन्देश हो ।”
स्कटल्यान्ड र नेदरल्यान्ड्ससहित नेपाल एसोसियट क्रिकेटका चर्चित सदस्यहरू हुन् ।
आईसीसीले गरेको परिवर्तन के हो ?
आईसीसीले गत जुलाईमा पुरुष एकदिवसीय विश्वकप २०२७ को नयाँ संरचना घोषणा गरेको थियो ।
विश्वकपमा विगतको विश्वकपमा जसरी नै १४ टोलीले भाग लिनेछन् । तर, प्रतियोगिता खेलिने संरचना र अन्तिम चरणमा पुग्ने प्रक्रियामा भने व्यापक परिवर्तन गरेको हो ।
दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्न लागेको सो विश्वकपमा अघिल्लो संस्करणभन्दा विपरीत १० टोलीको राउन्ड रोबिन शैलीभन्दा तीन चरणमा विभाजित गरी नयाँ शैली अपनाइनेछ ।
नयाँ शैलीअनुसार पहिलो चरणमा सुपर सिरिज हुनेछ । जहाँ १४ मध्ये सबैभन्दा कम वरीयताका ३ टोलीलाई मात्र खेलाइनेछ । ती तीनै टोलीले एकअर्कासँग खेल्नेछन् र पहिलो हुने एउटा टोलीले मात्र मुख्य चरणमा प्रवेश पाउनेछ, बाँकी दुई टोली विश्वकपबाट बाहिरिनेछन् । यो शैलीअनुसार, कम वरीयताको टोलीहरू ठूला राष्ट्रसँग खेल्नबाट वञ्चित हुनेछन् ।
दोस्रो चरणमा आएर ग्रुप राउन्ड सुरु हुनेछ । त्यहाँ बाँकी १२ टोलीलाई ६/६ टोली गरी दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहले राउन्ड रोबिन खेल्नेछन् र दुवै समूहका शीर्ष ३/३ टोली र दुवै समूहबाट अर्को एक उत्कृष्ट टोली गरी ७ टोली अर्को चरणमा पुग्नेछन् ।
अब तेस्रो चरणमा यी ७ टोलीबीच राउन्ड रोबिन प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष ४ मा रहेका टोलीहरू सेमिफाइनलमा पुग्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल हुनेछ ।
यही विषयमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले आपत्ति जनाएका हुन् । विश्व क्रिकेटर्स संघ पनि यो नयाँ संरचनाबारे प्रश्न उठाएको थियो ।
एसोसियट राष्ट्रसँग सल्लाह गर्नुपर्ने
विज्ञप्तिमा भनिएको छ, “हाम्रो भविष्यमा प्रत्यक्ष असर पार्ने निर्णय गर्नुअघि प्रभावित एसोसिएट सदस्य राष्ट्रहरूसँग उचित रूपमा परामर्श गरिनुपर्छ । छनोट चक्र सुरु भइसकेपछि सम्बन्धित संरचनाहरू परामर्शबिना परिवर्तन हुनु हुँदैन । छोटो सूचनामा यस्तो संरचना परिवर्तन गर्दा ठूलो अनिश्चितता सिर्जना हुन्छ, योजना निर्माणमा बाधा पुग्छ र सीमित स्रोतसाधनमा सञ्चालन भइरहेका संस्थाहरूमा थप आर्थिक तथा व्यवस्थापकीय दबाब पर्छ ।”
यी परिवर्तन घोषणा भएपछि क्रिकेट स्कटल्यान्ड, नेदरल्यान्ड्स र अन्य एसोसिएट सदस्य राष्ट्रहरूले आइसीसीसँग दुईपटक बैठक गरेका छन् । दुवै बैठकमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले परिवर्तनबारे आधिकारिक लिखित जानकारी तथा निर्णय प्रक्रियाका विषयमा थप स्पष्टता मागेको जनाएको छ ।
विज्ञप्तिमा दुवै बोर्डले एसोसिएट सदस्य राष्ट्रहरूलाई फुल मेम्बर राष्ट्रहरूसँग हुने द्विपक्षीय योजना बैठकमा सहभागी गराउन पनि आग्रह गरेको तर दोस्रो बैठक भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि आईसीसीबाट थप कुनै प्रतिक्रिया नआएकोमा निराशा पनि व्यक्त गरिएको छ ।
