काठमाडौँ । नेपाल प्रहरीले शनिबार बिहान ८:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएको जनाएको छ।
उपत्यकाको काठमाडौँस्थित नागार्जुन नगरपालिका-०८ ठुलो खोलामा परेको पहिरोले सितापाइला-धार्के सडक खण्डमा एकतर्फी मात्र गाडी चलिरहेका छन्।
कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिममा मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ। इलामको राजदुवालीमा मेची राजमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ मा निलदोर्जे पर्यटक सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन्।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र मकवानपुरको सिमातमा पहिरोले कान्तिलोकपथ सडक खण्ड ठप्प छ।
गण्डकी प्रदेशमा कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर र नवलपरासी पूर्वको गैँडाकोटमा पहिरो गएकाले एकतर्फी यातायात सञ्चालनमा छ। मुस्ताङको केकु खोलामा पहिरो जाँदा बेनी-जोमसोम सडक र लमजुङको श्रीचौरमा पहिरो जाँदा बेसिशहर-मनाङ सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्। लुम्बिनी प्रदेशको पाल्पास्थित गोँडपुलमा सिद्धार्थ राजमार्ग र गुल्मीको लेखमा मदन भण्डारी सडक खण्ड पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
कर्णाली प्रदेशमा पनि बाढीका कारण सडक अवरुद्ध भएका छन्। रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोर जाजरकोट-डोल्पा सडक खण्ड र मुगुको छायाँनाथ रारामा बाढी आउँदा नाग्म-गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

