काठमाण्डौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ ।
तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ । आउँदो २५ गते सोमबारदेखि पुस्तकालयमा पठनपाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ ।
आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषद्का पदाधिकारी, भृकुटीमण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको ताल्चा खोलिएको हो ।
हाल पुस्तकालयको साँचो ताल्चा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद् र पुस्तकालय कार्यसमितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रका उल्लेख छ । आम पाठकलगायत विभिन्न व्यक्तिहरूबाट भएका दबावमूलक तथा रचनात्मक कार्यक्रमका कारण पुस्तकालयमा लगाएको तालाबन्दी खुलेको हो ।
परिषद् र पुस्तकालय समाजबीच वर्षौँदेखि चलिरहेको २ करोड ८५ लाख रुपैयाँ भाडा बक्यौता विवादका कारण गएको चैत ३० गतेदेखि पुस्तकालय बन्द थियो । २०६० सालमा स्थापना भएको यस पुस्तकालयमा ५० हजारभन्दा धेरै पुस्तकहरू उपलब्ध छन् ।
