काठमाण्डाै – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो ।
विशेषगरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याई देशकै शैक्षिक ‘हब’ बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सडकलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाफ दिन आग्रह गर्नुभएको छ ।
सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
