रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि स्थानीय नै हुने गरेको उल्लेख गर्दै त्यसले अन्ततः आफ्नै सिँचाइ प्रणालीमा असर पार्ने बताउनुभयो। आफ्नो नहर र सिँचाइ संरचनाको संरक्षणमा उपभोक्ता जागरुक हुनुपर्ने उहाँको भनाइ थियो।
सभामा संस्थाका अध्यक्ष देवबहादुर रानाले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा मुहानमा बाँध निर्माण, शाखा कुलोहरूको स्तरोन्नति, मूल नहर मर्मत तथा सर्भिस रोड निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङले किसानलाई मर्का नपर्ने गरी सिँचाइ सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडा कार्यालयले सिँचाइ संरचनाको विकास र व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै निर्माणको क्रममा उपभोक्ता संग पैसा उठाउने कार्य बन्द गर्न आग्रह गर्नुभयो।
सभामा सचिव मदन भुजेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरला काप्रीले आयव्यय प्रतिवेदन र लेखा समिति संयोजक शिवप्रसाद पुडासैनीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाले गत आर्थिक वर्षमा एक करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ।
सो अवसरमा संस्थामा लामो समयसम्म मेसिन अपरेटरका रूपमा सेवा गरी अवकाश प्राप्त कर्मचारी बलबहादुर अधिकारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पिठुवा खानेपानी संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ र नेकपा एमालेका प्रतिनिधि कृष्ण पन्तले शुभकामना मन्तव्य राख्नुभएको थियो। उपाध्यक्ष नारायण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव मदन भुजेलले गर्नुभएको थियो।
