काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ ।
तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् । प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको सङ्ख्या ६५१ ले धेरै छ ।
यो तथ्याङ्कले शरद्को पर्यटन ‘सिजन’ सकिँदै गएको सङ्केत गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार साप्ताहिक विवरणमा बाहिरिने विदेशी पर्यटकको सङ्ख्या ८७७ र स्वदेशी पर्यटकको सङ्ख्या ३०३ रहेको छ ।
त्यही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन् । खुम्बुमा चिसो बढेसँगै पर्यटकहरु फर्किने क्रम बढेको स्थानीयबासिन्दा दाली शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्रमा मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप धेरै हुन्छ ।
मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गर्छ । तर, अब विस्तारै तापक्रम घट्दै जाने, रातमा अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताउनुभयो
चिसो बढ्न थालेपछि पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसायका गतिविधिमा परिवर्तन देखिन थालेको लुक्लाका स्थानीयबासिन्दा तोयाकुमार श्रेष्ठले बताउनुभयो ।
