"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जुनेलो : ‘हेपिएको खाना’ बन्यो सहरियाको ‘सुपरफुड’, गाउँमा लोपोन्मुख, करोडौंको आयात

Table of Content

१३ साउन, काठमाडौं । कुनै समय मुलुकका पहाडी र भित्री मधेसका गाउँघरमा प्रशस्तै फल्ने रैथाने बाली ‘जुनेलो’ अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

आयातित सेतो चामलको दबदबासँगै गाउँमा ‘गरिबको खाना’ भनेर हेला गरिएको यो बालीलाई अहिले सहरी क्षेत्रका स्वास्थ्य विशेषज्ञ र सचेत उपभोक्ताले भने ‘सुपरफुड’ का रूपमा खोजीखोजी खान थालेका छन् ।

अहिले सहरमा किराना पसलदेखि मार्ट हुँदै अनलाइन सपिङ प्ल्याटफर्ममा समेत बिक्रीका लागि राखिएका छन् । यसको प्रतिकिलो मूल्य २ सय ५० देखि ३ सय रुपैयाँसम्म तोकिएको छ ।

गाउँमा उत्पादन हुनै छाड्नु र सहरमा माग ह्वात्तै बढ्नुले जुनेलोको आन्तरिक बजार अहिले असन्तुलित बनेको छ । परिणाम स्वरूप स्वदेशी माग धान्नकै लागि ठूलो परिमाणमा विदेशबाट जुनेलो आयात भइरहेको छ र बर्सेनि करोडौं रुपैयाँ बाहिरिरहेको छ ।

सहरमा जुनेलोको माग बढ्नुको मुख्य कारण यसमा लुकेको स्वास्थ्यबर्द्धक गुण हो । खाद्य प्रविधि तथा पोषण विज्ञका अनुसार जुनेलो पोषण भण्डार हो । यसमा ९ देखि ११ प्रतिशतसम्म प्रोटिन, प्रशस्त फाइबर र कार्बोहाइड्रेट पाइन्छ । फाइबर बढी हुने भएकाले यो मधुमेहका बिरामीका लागि रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न उपयोगी हुने उनीहरू बताउँछन् ।

साथै, यसमा ग्लुटेन नहुने भएकाले गहुँ वा जौ पचाउन नसक्नेका लागि यो उत्कृष्ट विकल्प हो । पोटासियम, फस्फोरस, क्याल्सियम, आइरन र प्रोटिनले भरिपूर्ण जुनेलो मुटु, पत्थरी र दमका बिरामीलाई समेत लाभदायक मानिन्छ ।

पछिल्लो समय यसको पिठोबाट बेकरी उद्योगहरूमा ‘ग्लुटेन–फ्री’ केक, कुकिज र पाउरोटी बन्न थालेका छन् । यस्तै दानालाई पपकर्न जसरी भुटेर खान र यसबाट गुलियो सिरप निकाल्न पनि सकिन्छ ।

वैज्ञानिक दृष्टिकोणले जुनेलोलाई ‘सी–फोर प्लान्ट’ भनिन्छ, जसले अत्यन्तै कम पानी र सुक्खा मौसममा पनि आफूलाई हुर्काउन सक्छ । कम सिँचाइ र चिस्यानमा पनि फल्ने हुनाले जलवायु परिवर्तनको असरसँग जुध्न सक्ने यो उत्कृष्ट ‘क्लाइमेट स्मार्ट’ बाली हो ।

गाउँमा उत्पादन घट्दा मूल्य दोब्बर

स्वास्थ्यका हिसाबले यति महत्त्वपूर्ण भए पनि गाउँघरमा यसको खेती घट्दै गएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कुनै समय व्यापक हुने जुनेलो खेती अहिले केही वडामा मात्र सीमित छ ।

मकवानपुरगढी–४ स्थित ‘अपांग तथा विपन्न कृषि सहकारी’ अध्यक्ष दिलबहादुर योञ्जनका अनुसार अहिले गाउँका बुढापाकाले मात्रै यसको खेती जोगाइरहेका छन् ।

‘पहिले गाउँमा व्यापक खेती हुन्थ्यो, अहिले त यता १, २ र ८ नम्बर वडातिर मात्रै अलिअलि खेती हुन्छ,’ उनी भन्छन्, ‘१ र २ नम्बर वडाबाट अहिले मुस्किलले २०–२५ क्विन्टल जति उत्पादन भइरहेको छ ।’

तर, सहरका ठूला सुपरमार्केट र स्वास्थ्य सचेत नागरिकले जुनेलो खोज्न थालेपछि बजार भने तातेको छ । योञ्जनको सहकारीले किसानबाट जुनेलो संकलन गरेर काठमाडौं, पोखरा, सिन्धुली र इलामतिर पठाइरहेको छ । खानका लागिमात्र नभई बिउकै लागि पनि धेरै माग आउन थालेपछि सहकारीले भर्खरै मात्र करिब १० क्विन्टल बिउ अन्यत्र पठाइसकेको उनले बताए ।

विगतमा बजार नपाएर ६० देखि ६५ रुपैयाँ किलोमा बिक्ने जुनेलोको मूल्य अहिले माग बढेसँगै आकासिएको छ । ‘अहिले गाउँमै किसानले किलोको १ सय १५ देखि १ सय २० रुपैयाँसम्म भन्न थालिसकेका छन्,’ योञ्जनले अनलाइनखबरसँग भने, ‘त्यसमा ढुवानी र प्याकेजिङ खर्च जोडेर हामीले १ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेका छौं ।’

अस्ट्रेलियाबाटै भित्रियो ठूलो परिमाण

स्वदेशमा उत्पादन घट्दा र माग बढ्दा आयात ग्राफ भने बढेको सरकारी तथ्यांकले नै देखाउँछ । भन्सार विभागको पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म) को तथ्यांक विश्लेषण गर्दा नेपालमा कुल ५१४.७ टन (५ लाख १४ हजार ७ सय ९ किलो) जुनेलो आयात भएको छ । यसका लागि मात्रै नेपालबाट ३ करोड १० लाख ३७ हजार रुपैयाँ विदेशिएको छ ।

आयातको वार्षिक ट्रेन्ड निकै उतारचढावपूर्ण देखिन्छ । आव २०७८/७९ मा भारतबाट ४४ हजार रुपैयाँ बराबरको ०.८४ टन (८ सय ४८ किलो) आयात भएको जुनेलो, २०७९/८० मा घटेर ३४ हजार रुपैयाँको ०.६१ टन (६ सय ११ किलो) भित्रिएको थियो ।

तर, सबैभन्दा आश्चर्यजनक उछाल आव २०८०/८१ मा देखियो । सामान्यतया छिमेकी भारतबाट मात्र थोरै परिमाणमा आयात हुने जुनेलो उक्त वर्ष अस्ट्रेलियाबाट ठूलो मात्रामा भित्रियो ।

त्यस वर्ष अस्ट्रेलियाबाट मात्रै २ करोड ५९ लाख २२ हजार रुपैयाँ बराबरको ४ सय ८६ टन (४ लाख ८६ हजार ६० किलो) जुनेलो नेपाल भित्रिएको तथ्यांक छ, जबकि सोही वर्ष भारतबाट ३ सय ४० किलो मात्रै आयात भएको थियो ।

त्यसपछि २०८१/८२ मा आयात ह्वात्तै घटेर भारतबाट ११ हजार रुपैयाँको ०.२२ टन (२ सय २० किलो) भित्रियो । तर, गत आव २०८२/८३ मा फेरि आयात बढेर भारतबाट ५० लाख ७ हजार  बराबरको २६.६३ टन जुनेलो भित्रिएको छ ।

गत आव भारतबाट २५ टन (२५ हजार किलो) त जुनेलो बिउका नाममा मात्रै आयात भएको छ, जसका लागि ४८ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।

किन ओझेलमा पर्‍यो जुनेलो ?

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जुनेलोलाई ‘उपेक्षित बाली’ को सूचीमा राखेको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी सरकारको सम्पूर्ण ध्यान ‘धान, मकै र गहुँ’ मा मात्र केन्द्रित हुँदा भविष्यको ‘स्मार्ट फुड’ मानिएको जुनेलो उपेक्षित भएको बताउँछन् ।

‘अहिलेको पुस्तालाई त यो बाली थाहै छैन, कृषि विज्ञान पढेकाहरूले नै यसलाई चिन्न छाडिसके,’ डा. जोशी भन्छन्, ‘मन्त्रालयको डायरीमा कोदो, फापर र जौ देखिन्छ तर जुनेलोको नामै छैन, यसको आधिकारिक तथ्यांक नै सरकारसँग छैन ।’

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ पनि हरित क्रान्तिपछि राज्यले सीमित बालीलाई मात्र प्राथमिकतामा राख्दा यस्ता रैथाने बाली लोप हुने अवस्थामा पुगेको स्वीकार्छन् ।

‘कृषिमा हजारौं खालका बाली हुन्छन्, तर हरित क्रान्ति पछाडि राज्यको प्राथमिकता र नीति सीमित बालीहरू खासगरी धान, गहुँ र मकैमा मात्रै केन्द्रित भयो,’ सहसचिव श्रेष्ठ भन्छन्, ‘जसले गर्दा पोषणले भरिपूर्ण कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, जुनेलो जस्ता रैथाने बालीहरू ओझेलमा परे ।’

उनका अनुसार नेपालमा कोदोजन्य बालीमा सबैभन्दा बढी कोदो, त्यसपछि कागुनो र चिनोको उत्पादन हुने गरेको छ, तर जुनेलोको उत्पादन भने अत्यन्तै न्यून छ । भारतमा भने ज्वार (जुनेलो) र बाजराको व्यापक खेती हुने गरेको छ ।

विगतमा गाउँघरमा प्रशस्तै फल्ने यी बाली अहिले किन उत्पादन हुन छाडे ? सहसचिव श्रेष्ठ यसका पछाडि आर्थिक, सामाजिक र प्राविधिक कारण देख्छन् ।

‘बाटोघाटोको विकास र बजार केन्द्र विस्तारसँगै गाउँगाउँमा चामल पुग्यो, भात खानुलाई समाजमा वैभवको प्रतीक मान्न थालियो र यी रैथाने बालीलाई हेला गरियो,’ उनी भन्छन्, ‘अर्कातर्फ युवाहरूको पलायन र श्रमशक्ति अभाव छ, यी बाली झार्न, फल निकाल्न र कुट्न झन्झटिलो हुन्छ, प्रशोधन गर्ने मेसिन नहुँदा किसानले यसको खेती गर्नै छाडे ।’

यद्यपि, नेपालमा यसको व्यावसायिक उत्पादनको ठूलो सम्भावना रहेको अनुसन्धानले देखाइसकेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र नार्कका अनुसन्धानकर्ताका अनुसार अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीबाट ल्याइएका ‘पहत’ र ‘समुराई’ नामक जुनेलोका म्युटेन्ट जात खुमलटारमा परीक्षण गर्दा प्रतिहेक्टर ६.५ देखि ८.५ टनसम्म उत्पादन भएको पाइएको छ ।

छिमेकी भारतले हाइब्रिड जात विकास गरेर प्रतिहेक्टर ८ टनसम्म उत्पादन लिइरहँदा नेपाल सरकारले भने हालसम्म जुनेलोको एउटा पनि उन्नत जात सिफारिस गर्न सकेको छैन । यद्यपि, जिन बैंकले नेपालका विभिन्न स्थानबाट संकलन गरेका करिब १५ वटा रैथाने जात भने संरक्षण गरेर राखेको छ ।

विश्व परिदृश्य हेर्ने हो भने चौथो र भारतमा तेस्रो महत्त्वपूर्ण खाद्यान्न बाली मानिने जुनेलो उत्पादनमा शक्तिशाली राष्ट्रहरूले ठूलो लगानी गरेका छन् । संयुक्त राज्य कृषि विभाग (यूएसडीए) को सन् २०२४ को अनुमानित तथ्यांक अनुसार अमेरिकामा ८७ लाख ३४ हजार टन उत्पादन गर्दै विश्वकै पहिलो स्थानमा छ ।

त्यसपछि अफ्रिकी राष्ट्र नाइजेरिया ६९ लाख टन र दक्षिण अमेरिकी राष्ट्र ब्राजिल ५० लाख टन उत्पादन गर्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी मेक्सिको ४५ लाख टनका साथ चौथो र भारत ४४ लाख टन उत्पादन साथ विश्वको पाँचौं ठूलो उत्पादक बनेका छन् । यस्तै इथियोपिया ४१ लाख टन (छैटौँ), अर्जेन्टिना ३६ लाख टन (सातौं), सुडान ३३ लाख टन (आठौं), चीन ३० लाख टन (नवौं) र अस्ट्रेलिया २१ लाख टन उत्पादन गर्दै दसौं स्थानमा छन् ।

अमेरिका, चीन, अस्ट्रेलिया र ब्राजिलजस्ता देशले यसलाई प्राथमिकतामा राखेर लाखौं टन उत्पादन गरिरहँदा नेपालमा भने यो बहुमूल्य रैथाने बाली सरकारी नीतिमै उपेक्षित हुनु विडम्बना हो ।

सहरमा बढेको माग र आकासिएको मूल्यले जुनेलो खेतीलाई पुनर्जीवन दिने आशा भने जगाएको छ । पशु आहारदेखि मानिसको भान्सासम्म प्रयोग हुने यो बालीलाई जलवायु परिवर्तनले सुक्खायाम बढिरहेको र पशुपालनमा ‘साइलेज’ (घाँस) को मागसमेत बढिरहेको वर्तमान सन्दर्भमा उत्कृष्ट विकल्प मानिएको छ ।

अब सरकारी तवरबाट जुनेलोका उन्नत जात सिफारिस गर्ने, कृषि अनुदानमा यसलाई समावेश गर्ने र यसको झन्झटिलो प्रशोधन कार्यका लागि गाउँ–गाउँमा कृषि उपकरण व्यवस्था गर्ने हो भने हराउन लागेको यो रैथाने सुपरफुडले नेपालको अर्थतन्त्र र जनस्वास्थ्य दुवै क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सक्ने कृषि विज्ञ बताउँछन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०